close

फेसबुक अकाउन्टमा सक्रिय हर्क साम्पाङ भन्छन्ः यलम्बर नामसँग मान्छेमा यत्रो रिस रहेछ

टेकपाना टेकपाना

बैशाख ४, २०८३ ११:३९

फेसबुक अकाउन्टमा सक्रिय हर्क साम्पाङ भन्छन्ः यलम्बर नामसँग मान्छेमा यत्रो रिस रहेछ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले आफ्नो सस्पेन्डेड भएको फेसबुक पेज फिर्ता ल्याउने प्रयास चलिरहेको बताएका छन् । १४ लाखभन्दा बढी फलोअर रहेको उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभोलुसन’ (Harka Sampang A Revolution) बिहीबार दिउँसोदेखि अचानक बन्द भएको थियो ।

पेज सस्पेन्ड भएपछि साम्पाङले Harka Sampang Shram Sanskriti नामक फेसबुक अकाउन्टमा सक्रिय हुँदै यलम्बर नामप्रति केही मानिसहरूको तीव्र आक्रोशका कारण यस्तो हुन गएको प्रतिक्रिया दिएका छन् । यो विवादको सुरुवात सरकारले 'पूर्व-पश्चिम राजमार्ग'को नाम सच्याएर पुनः 'महेन्द्र राजमार्ग' उल्लेख गर्ने निर्णय गरेपछि भएको हो ।

साम्पाङले यस निर्णयको विरोध गर्दै तत्कालीन राजाहरूको नामबाट राखिएका नामहरूलाई हलुका रूपमा प्रस्तुत गर्न थालेका थिए । उनले महेन्द्र राजमार्गको सट्टा त्यसको नाम किराँती राजा यलम्बरको नामबाट राख्नुपर्ने भन्दै व्यङ्ग्य समेत गरेका थिए ।

बिहीबार दिउँसो साम्पाङले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि ‘Safely landed at Yalambar Intl Airport Ktm’ (काठमाडौँको यलम्बर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरियो) भन्दै विमानस्थलको नाम परिवर्तनको आशय झल्किने पोस्ट गरेका थिए । विमानस्थल जस्तो संवेदनशील संरचनाको नाम नै परिवर्तन गरेर पोस्ट गरेपछि उनको उक्त पोस्टमा ठुलो सङ्ख्यामा मानिसहरूले रिपोर्ट गरेका थिए । सोही 'मास रिपोर्टिङ'का कारण उनको फेसबुक पेज सस्पेन्ड भएको बुझिएको छ ।

अहिले उनको पेज खोल्न खोज्दा फेसबुकले ‘यो सामग्री अहिले उपलब्ध छैन’ भन्ने सन्देश देखाइरहेको छ । साम्पाङले आफ्नो नयाँ पेजमार्फत यलम्बर नाम सुन्दा केही मान्छेहरूमा यति धेरै रिस रहेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले आफ्नो सस्पेन्ड भएको पेज रिकभर हुने क्रममा रहेको र छिट्टै सञ्चालनमा आउने विश्वास समेत व्यक्त गरेका छन् ।

कुन विशेष मापदण्ड उल्लङ्घनका कारण उक्त पेज सस्पेन्ड हुन गएको हो भन्नेबारे फेसबुकबाट आधिकारिक जानकारी प्राप्त भइसकेको छैन । यद्यपि पोस्टमाथिको अत्यधिक रिपोर्ट नै मुख्य कारण देखिएको छ । साम्पाङले तत्कालीन राजाहरूका नाममा रहेका धरोहरहरूको नाम परिवर्तनको कुरा उठाउँदा पटक-पटक विवादमा पर्दै आएका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ १४:१२