व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन: गृहमन्त्री गुरुङ
बैशाख ७, २०८३ १३:५९
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पछिल्लो समय आफ्नो नाम जोडेर भइरहेका विभिन्न चर्चा र शेयर लगानीका विषयमा फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । उनले तथ्यलाई बङ्ग्याएर हल्ला फैलाइएको भन्दै यथार्थ बुझ्न सबैलाई आग्रह गरेका छन् ।
मन्त्री गुरुङले '२५ लाखको सेयर लुकाइएको' भन्ने आरोपको खण्डन गर्दै यो लुकाउने विषय नभई वर्गीकरणको विषय भएको बताएका छन् । उनले धितोपत्र बजारमा कारोबार हुने शेयरका रूपमा २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको र सो विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने उल्लेख गरेका छन् । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि सोही २ करोडभित्रै समेटिएको उनको दाबी छ । २ करोडभन्दा बढी सम्पत्ति खुला रूपमा देखाउने मान्छेले २५ लाख लुकाउनुको कुनै तर्क नरहने उनले बताएका छन् ।
उनले मन्त्री हुनुअघि नै शेयरमा लगानी गरेको र देशमा सेयर लगानी गर्नु अपराध नभएको बताएका छन् । सम्पूर्ण कारोबार बैङ्किङ च्यानलमार्फत भएको उल्लेख गर्दै उनले बैङ्कबाट भएको कारोबारको हिसाब कहिले, कहाँ र कसलाई गयो भन्ने स्पष्ट देखिने भएकाले यस्तो पैसा लुकाउन असम्भव रहेको बताएका छन् । लगानीको स्रोतबारे स्पष्ट पार्दै उनले मिति २०८०/०५/२९ को लिखित तमसुकअनुसार ऋण (कर्जा) लिएको र सोही रकम बैङ्किङ च्यानलमार्फत आएर लगानीमा प्रयोग भएको जानकारी दिएका छन् ।
विवादित व्यवसायी दिपक भट्टसँग साझेदारी गरेको भन्ने आरोपमा मन्त्री गुरुङले एउटै कम्पनीमा सयौँ-हजारौँ शेयरहोल्डर हुने र शेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु नभएको तर्क गरेका छन् । उक्त कम्पनीहरूमा मिडिया हाउसदेखि बैङ्कसम्मको लगानी रहेको उदाहरण दिँदै उनले शेयरहोल्डर हुनुलाई मात्रै अपराध मान्नु वा चयन गरेर आरोप लगाउनु न्यायोचित नहुने बताएका छन् ।
यस्तै 'स्वार्थको द्वन्द्व' को विषयमा उनले यसको छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग रहेको स्पष्ट पारेका छन् । उक्त निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको र आफूले कुनै हस्तक्षेप नगरेकै कारण छानबिन अघि बढेको उनले दाबी गरेका छन् ।
व्यापारिक लगानीमा जोखिम हुने र भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने भन्दै उनले पछि भएको घटनालाई अघि गरिएको निर्णयको दोष बनाउनु 'सुविधा अनुसारको व्याख्या' मात्र भएको बताएका छन् । कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा नभई प्रमाणसहित मात्र सत्य बाहिर ल्याउनका लागि प्रतिक्रिया दिन समय लागेको उनको स्पष्टोक्ति छ ।
गृहमन्त्री गुरुङले व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतो भन्नु गलत भएको जिकिर गरेका छन् । लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा भएको र यसलाई मिसाएर राजनीति नगर्न उनले आग्रह गरेका छन् । उनले यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले आफूलाई जिम्मेवार बनाएको भन्दै उनले हल्लाको पछि नलागी प्रमाणमा उभिन आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १३:५९
