पीयूले तयार पार्यो एआई तथा डेटा साइन्सको पाठ्यक्रम, गणित वा कम्प्युटरका विद्यार्थीले पनि पढ्न पाउने
बैशाख १०, २०८३ ८:८
काठमाडौँ । पोखरा विश्वविद्यालयले गत वर्षदेखि स्नातक तहमा सुरु गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डेटा साइन्स कोर्सका सबै सेमेस्टरको पाठ्यक्रम तयार पारेको छ । विश्वविद्यालयले सोमबार ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा एक कार्यक्रम गर्दै दोस्रोदेखि आठौँ सेमेस्टरको पाठ्यक्रम सार्वजनिक गरेको हो ।
हाल आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्स विषय अन्तर्गतको एक सेमेस्टरको अध्यापन पुरा भइसकेको विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले जानकारी दिए । उक्त सेमेस्टरमा भएको अध्यापनको समीक्षा गर्दै आगामी २ देखि ८ सेमेस्टरको पाठ्यक्रम तयार पारिएको उनले बताए ।
चार वर्षे कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले सूचना प्रविधिका आधारभूत ज्ञानदेखि एआईका एड्भान्स टेक्नोलोजीसँग सम्बन्धित विषयहरू अध्ययन गर्नेछन् । सुरुवाति वर्षमा प्रोग्रामिङ, डेटा स्ट्रक्चर, डेटाबेस, कम्प्युटर नेटवर्क र अपरेटिङ सिस्टम जस्ता आधारभूत विषयहरू समेटिएका छन् ।
यस्तै डेटा साइन्स, डेटा भिजुअलाइजेसन, वेब टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विषयहरू पनि पढाइनेछ । मसिन लर्निङ, डिप लर्निङ, डेटा माइनिङ, कम्प्युटर भिजन र नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ जस्ता विषयवस्तुहरू समेत कार्यक्रममा समेटिएका छन् ।
यसका साथै पाठ्यक्रममा एआई इथिक्स, पोलिसी एन्ड गभर्नेन्स, क्लाउडमा एआई डिप्लोयमेन्ट, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र जस्ता विषयहरूलाई समेत प्राथमिकतामा राखिएको छ ।
चार वर्षे यो कोर्स १२२ क्रेडिट आवरको रहने छ । पाठ्यक्रममा १०५ लेक्चर, ३६ ट्युटोरियल र ९१ प्राक्टिकल कक्षाहरू समेटिएका छन् । साथै, १३ क्रेडिटको प्रोजेक्ट र ३ क्रेडिटको इन्टर्नशिप पनि अनिवार्य रूपमा समावेश गरिएको छ ।
एआईसँग सम्बन्धित काम गर्ने कम्पनी र नेपाल सरकारका निकायहरूमा डेटा एनालिस्टका रूपमा विद्यार्थीलाई इन्टर्नशिप गर्ने व्यवस्था समेत मिलाइएको डीन जोसीले बताए । यो कोर्स अध्ययनका लागि +२ तहमा विज्ञान विषयको अध्ययन अनिवार्य नगरिएको डीन जोशीले बताए । उनले भने, “जुनसुकै सङ्काय पढेको भएपनि कक्षा ११ र १२ मा गणित वा कम्प्युटर साइन्स मध्ये एक विषय पढेको कुनैपनि विद्यार्थीले यो कोर्स पढ्न पाउँछन् ।”
हाल यो कोर्स ललितपुरको श्रमिक शान्ति क्याम्पसमा मात्र उपलब्ध रहेको छ । हरेक ब्याचमा ४८ वटा कोटा निर्धारण गरेर भर्ना लिइएको उनले बताए । यो कोर्स पुरा गर्नका लागि कूल ४ लाख ७८ हजार २०० रुपैयाँ शुल्क र २० हजार रुपैयाँ थप धरौटी निर्धारण गरिएको छ । तर, भर्ना हुने विद्यार्थीमध्ये ९ जनालाई छात्रवृत्तिको व्यवस्था समेत मिलाइएको छ । हरेक सेमेस्टर टप गर्ने थप एक जना विद्यार्थीलाई पनि एक समेस्टर छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ ८:९
