टिकटकर तुल्सा कलेक्सन विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा, तुल्सी अधिकारी फरार सूचीमा
बैशाख १५, २०८३ ११:१६
काठमाडौँ । सामाजिक सञ्जाल दुरुपयोग गरी एक महिला र उनको परिवारको चरित्रहत्या गरेको आरोपमा टिकटकर तुल्सी अधिकारी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार अभियोग पत्र दायर गरेको हो ।
प्रतिवादी तुल्सी अधिकारी लुम्बिनी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल-०६ की स्थायी बासिन्दा हुन् । ललितपुर महानगरपालिका वडा नं. ०४ मा बस्दै आएकी ३३ उनी हाल चीनमा रहेकी छिन् भने पेसाले ज्वेलरी डिजाइनर समेत हुन् ।
पीडित पुरुषले दिएको जाहेरी अनुसार अधिकारीले आफ्नो टिकटक आईडी Tulsa (Jewelry Designer) र ROWDYZM मार्फत पीडितको नाम जोडेर अत्यन्तै अश्लील, अमर्यादित र अपमानजनक सामग्रीहरू पोस्ट गरेकी थिइन् ।
अधिकारीले सार्वजनिक गरेका भिडिओहरूमा पीडितको मानमर्दन हुने गरी उनकी श्रीमतीलाई चौथो स्टेजको क्यान्सर लागेको भनी झुटो प्रचार गरेको अभियोगपत्रमा उल्लेख छ ।
विभिन्न अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै अधिकारीले पीडितको १२ वर्षीय नाबालक छोरालाई समेत मुछेर 'एडप्ट गरेको छोरो जनजाति जस्तो भयो' भन्दै होच्याएको र घृणा फैलाएको दाबी ग रिएको छ ।
पीडितले बच्चा पाउन नसक्ने भन्दै पाठेघरको विषयमा समेत निकै तल्लो स्तरको टिप्पणी गरेको र पीडितको अस्तित्व र व्यक्तित्वमा आँच पुग्ने गरी निरन्तर रूपमा भिडिओहरू पोस्ट र लाइभ स्ट्रिमिङ गरेको भनिएको छ ।
अधिकारी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाइएको हो । यस दफा अनुसार कसुर पुष्टि भएमा उनलाई १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडितलाई भएको मानसिक यातनाको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा शुल्क जम्मा गराउन समेत माग गरिएको छ ।
प्रतिवादी तुल्सी अधिकारी हाल फरार रहेको र उपस्थित नभएको भन्दै उनलाई अदालतमा उपस्थित गराउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम म्याद जारी गर्न अनुरोध गरिएको छ । साथै उनलाई पक्राउ गर्नका लागि २०८३ वैशाख २ गते इन्टरपोल शाखालाई समेत पत्र लेखिएको अभियोग पत्रमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ ११:१६
