भाइरल मोहले सडकबीचमै टिकटक बनाउँदै यी युवती, विदेशीले समेत गरे नेपालको सडक सुरक्षामाथि ट्रोल
बैशाख १५, २०८३ १५:८
काठमाडौँ । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा एक युवतीले सडकको बिच भागमा असुरक्षित तरिकाले बनाएको टिकटक भिडिओ भाइरल भइरहेको छ । “आफ्नो सोच नसोच पर, यति सारो घमन्ड नगर” बोलको गीतमा नृत्य गर्दै बनाइएको उक्त भिडिओका कारण उनी अहिले आलोचना र ट्रोलको सिकार बनिरहेकी छिन् ।
भिडिओमा पहाडी क्षेत्रको एक पक्की र घुमाउरो सडकको बीचमा ती युवती नाचिरहेको देखिन्छिन् । उनी भिडिओ बनाउन व्यस्त रहँदा एउटा टेम्पो उनको अगाडिबाट पार हुन्छ भने लगत्तै पछाडिबाट एउटा माइक्रो बस हेडलाइट बालेर आइपुग्छ ।
माइक्रो बसको छतमा समेत केही युवाहरू बसिरहेका देखिन्छन् । युवतीले बाटो छेकेर भिडिओ बनाइरहेका कारण चालकले उनलाई जेनतेन छलेर गाडी अघि बढाउँछन् । अत्यन्तै साँघुरो र जोखिमपूर्ण सडकमा यसरी गाडीले ओभरटेक गर्दा दुर्घटनाको उच्च जोखिम देखिएको छ । तर, गाडीले ठक्कर देला कि भन्ने डर मान्नुको सट्टा ती युवती भने अविचलित रूपमा नाच्नमै व्यस्त देखिन्छिन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती युवतीले आफ्नो मात्र नभई सडकमा यात्रा गर्ने अन्य व्यक्तिहरूको ज्यानसमेत जोखिममा पारेको भन्दै आक्रोश पोखेका छन् । कतिपयले यस्तै गैरजिम्मेवार गतिविधिका कारण नेपालमा सडक दुर्घटना बढ्ने गरेको दाबी गरेका छन् ।
यो भिडिओ सामाजिक सञ्जाल एक्समा भारत र बङ्गलादेशका प्रयोगकर्ताहरूमाझ पनि भाइरल भएको छ । विदेशी प्रयोगकर्ताहरूले समेत यसलाई शेयर गर्दै नेपाली सडक सुरक्षा र नागरिक चेतनामाथि व्यङ्ग्य गरेका छन् । एक प्रयोगकर्ताले कटाक्ष गर्दै लेखेका छन्, “सडक त रिल्स बनाउनका लागि पो हो त, त्यहाँ टेम्पो किन ल्याउनु परेको ?”

एक प्रयोगकर्ताले एक्समा कमेन्ट गर्दै लेखेका छन्, “उसको रिल बिग्रिन नदिई ड्राइभरले कति खतरनाक कट मारेको रहेछ ! अलि यताउता भएको भए त सिधै खाडलमा खस्ने थियो 😂”।
अर्की प्रयोगकर्ताले लेखेकी छिन्, “नाच्न चाहिँ छाड्नु हुँदैन । जिन्दगी त के नै हो र ! एक दिन त सक्किने नै हो ।” अर्का प्रयोगकर्ताले पहाडी जोखिमपूर्ण सडकमा लापरबाही गर्नुले युवतीसहित यात्रुको पनि जीवन जोखिममा पारेको लेखेका छन् ।
हेर्नुहोस् एक्समा भाइरल भिडिओ माथि आएका केही कमेन्टको उदाहरण

टिकटकमा ‘sayaniiiii4’ युजरआईडी रहेको ‘भाबना पून मगर’ नामकी प्रयोगकर्ताले उक्त भिडिओ बनाएर अपलोड गरेकी हुन् । तर हाल उक्त भिडिओ सो अकाउन्टमा सार्वजनिक रूपमा देखिँदैन । तर ‘आफ्नो सोच नसोच पर, यति सारो घमन्ड नगर’ गीतमा सोही स्थानमा बनाएको अर्को भिडिओ अझै देख्न सकिन्छ । यो अकाउन्टबाट सडकको बिचमा बसेर युवतीले जोखिमपूर्ण तरिकाले बनाएका कयौँ अन्य भिडिओहरू पोस्ट भएका छन् ।

तिनै युवतीले ‘bhabanapunmagar49’ युजरआईडी भएको ‘3 sister office camdy vedio 🤣’ नामको अर्को अकाउन्टबाट पनि समान किसिमको भिडिओ राख्ने गरेको पाइएको छ । बाटो छेकेर बनाएको भिडिओ बनाउँदा पृष्ठभूमिमा आइरहेका गाडी रोकेर भिडिओ पूरा भइन्जेलसम्म कुरिरहेका भिडिओहरू पोस्ट भएका छन् । यी भिडिओलाई लाखौँ पटक हेरिएको छ ।

यसैबिच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले सडकमा टिकटक/रिल्स बनाउने गतिविधिले सुरक्षामा गम्भीर चुनौती थप्ने बताएका छन् । “सडक सवारी साधन र पैदल यात्रीको आवागमनका लागि हो । यसरी सडक अवरुद्ध हुने गरी, बाटो छेकेर भिडिओ बनाउनु सडक अतिक्रमण हो,” उनले टेकपानासँग भने ।
विशेषगरी पहाडी र साँघुरो सडकमा यस्तो लापरबाहीले ठुलो दुर्घटना निम्त्याउन सक्ने उनले बताए । “हामीले सचेतना कार्यक्रममार्फत यस्ता कार्य नगर्न पटक-पटक आग्रह गर्दै आएका छौँ । हाम्रो मुख्य उद्देश्य जरिवाना गर्नु भन्दा पनि नागरिकलाई सुरक्षित राख्नु र सडकमा हुने जोखिम कम गर्नु हो ।”
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ १५:३०
