सरकारी ठेक्का प्रणाली ह्याक गरेको आरोपमा आशिष निर्माण सेवाका सञ्चालक ७० वर्षीय गौली पक्राउ
बैशाख १६, २०८३ १७:१८
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप एक जना निर्माण व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ७० वर्षीय ऋषिकेश गौली रहेका छन् ।
चितवनको रत्ननगर नगरपालिका-१२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९, मण्डिखाटार बस्दै आएका गौलीलाई प्रहरीले बुधबार पुरानो बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौलीले ‘e-GP’ प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो ।
सुरुमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको यस प्रकरणमा योजनाबद्ध रूपमा गिरोह नै संलग्न देखिएपछि हाल ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत कसुर परिवर्तन गरी थप अनुसन्धान अघि बढाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
सरकारी ठेक्का प्रणाली ह्याक गरेर सेटिङ गर्ने यो प्रकृतिको अपराधमा प्रहरीले हालसम्म पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जना निर्माण व्यवसायीसहित जम्मा १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैमाथि संगठित अपराधको कसुरमा विस्तृत अनुसन्धान समेत भइरहेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १७:३७
