काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छापिए/नछापिएको जानकारी लिन सकिने विभिन्न प्लेटफर्म सञ्चालनमा ल्याएको छ । यद्यपि, कुन प्लेटफर्ममा सबैभन्दा पहिले छापिएको जानकारी आउँछ भन्ने विषयमा सेवाग्राहीमा अन्योल छ ।
यस विषयमा टेकपानाले यातायात व्यवस्था विभागका सूचना प्रविधि (आईटी) अधिकृत र नागरिक एपका प्रतिनिधिसँग कुराकानी गरेको थियो । नागरिक एपका प्रतिनिधिका अनुसार लाइसेन्स छापिएको जानकारी सबैभन्दा पहिले यातायात व्यवस्था विभागको सिस्टममा आउँछ र त्यही डेटा एपीआईमार्फत नागरिक एपमा जोडिएको हुन्छ । “कहिलेकाहीँ फोनमा क्यासका कारण लाइसेन्स छापिसक्दा पनि नागरिक एपमा नदेखिन सक्छ,” ती प्रतिनिधिले भने ।
यातायात व्यवस्था विभागका आईटी अधिकृतका अनुसार सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छापेको जानकारी दिनासाथ विभागको प्रणालीमा अपडेट हुन्छ । “...तर, हाम्रो प्रणालीमा छापिएको देखिँदैमा लाइसेन्स हात परिहाल्छ भन्ने हुँदैन,” ती अधिकृतले भने, “छापिएका कार्ड सम्बन्धित कार्यालयमा पठाएपछि कार्यालयले सर्टिङ गर्छ र वितरणको सूचना निकाल्छ । त्यही सूचना हेरेर मात्र सेवाग्राही कार्ड लिन जानुपर्छ ।”
कुनै पनि कार्ड नछुट्नु र डुप्लिकेसन नहोस् भन्नका लागि वेबसाइटमार्फत छापिएको जानकारी दिने गरिएको विभागले जनाएको छ । तर, लाइसेन्स वितरणको सूचना दिने सवालमा नागरिक एपमा भने एउटा त्रुटि देखिएको छ ।
एप खोलेर लाइसेन्स सेक्सनमा जाँदा ‘तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्’ भन्ने सन्देश देखिन्छ । तर, छापिएका सबै कार्ड यातायात कार्यालयमा पुगिसकेका हुँदैनन् र पुगेका कार्ड पनि वितरणका लागि तयार (सर्टिङ) भइसकेका हुँदैनन् । नागरिक एपका प्रतिनिधिले पनि एपको यो सन्देशमा त्रुटि रहेको स्वीकार गरेका छन् ।
कसरी थाहा पाउने विभागको वेबसाइटबाट लाइसेन्स छापिए/नछापिएको कुरा ?
-
सबैभन्दा पहिले यहाँ क्लिक गरेर विभागको वेबसाइटमा जानुहोस् ।
-
त्यसपछि आफ्नो जन्ममिति (ई.सं) र लाइसेन्स नम्बर राख्नुहोस् ।

-
यति गरेपछि तपाईंको कार्ड छापिएको छ कि छैन । छ भने कुन कार्यालयमा पाउन सकिन्छ भन्ने जानकारी देखिन्छ ।

यस वेबसाइटमा कार्ड छापिएको देखिएपछि सम्बन्धित यातायात कार्यालयको वेबसाइट वा सामाजिक सञ्जालको अकाउन्टमा जानुहोस् । र, कार्ड छापिएको सूचना फेला पारेर आफ्नो नाम भएको यकिन गर्नुहोस् । नाम र लाइसेन्स नम्बर रुजु गरिसकेपछि आफ्नै हो भन्ने सुनिश्चित हुनुहोस् र यातायात कार्यालयमा सक्कल रसिदसहित पुग्नुहोस् । कार्ड नवीकरण गरिएको हो भने पुरानो कार्ड पनि बुझाउनुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ १९:३४
