close

१३ महिनाका लागि जोडेको क्लासिक टेकको इन्टरनेट ९ दिनमै चल्न छोडेपछि प्रशासनमा ग्राहकको उजुरी

टेकपाना टेकपाना

बैशाख २४, २०८३ १८:११

१३ महिनाका लागि जोडेको क्लासिक टेकको इन्टरनेट ९ दिनमै चल्न छोडेपछि प्रशासनमा ग्राहकको उजुरी

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई झुटो आश्वासन दिएर ठगी गरेको र कर्मचारीहरूले अपमानजनक व्यवहार गरेको भन्दै भक्तपुरका एक उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । भक्तपुरका शिव प्रकाशले कम्पनीबाट आफूलाई मानसिक तनाव र आर्थिक क्षति पुगेको भन्दै १० लाख रुपैयाँ क्षतिपूर्तिको मागसहित प्रशासनमा निवेदन दिएका हुन् ।

शिव प्रकाशले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गराएको उजुरी अनुसार उनले १ वैशाख २०८३ मा क्लासिक टेकको ठिमी शाखाबाट १ वर्षका लागि १२५ एमबीपीएस गतिको इन्टरनेट प्याकेज जडान गरेका थिए । ५ हजार ९७९ रुपैयाँ भुक्तानी गरिएको सो प्याकेजमा सुरुमा २५ देखि ३० प्रतिशतसम्म छुटको प्रलोभन देखाइएको उनले बताए । कम्पनीले १ वर्षको प्याकेजमा ३० दिन थप बोनस गरी ३१ वैशाख २०८४ सम्म इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

तर जडान गरिएको केही दिनमै अर्थात् २२ अप्रिलदेखि इन्टरनेट चल्न छाड्यो । सेवा अवरुद्ध भएपछि शिव प्रकाशले ५० पटकभन्दा बढी फोन कल र टेक्स्ट मेसेज गर्दा पनि कम्पनीले वास्ता नगरेको र कर्मचारीहरूले फोनमा ५-७ मिनेटसम्म होल्डमा राखेर अपमानित गरेको उनको आरोप छ ।

पीडितका अनुसार कम्पनीका विभिन्न कर्मचारीले एउटै समस्यामा फरक-फरक र विरोधाभासपूर्ण जवाफ दिएका छन् । क्लासिक टेकको मोबाइल एपमा ड्रप वायर ब्रेकेज र रेड लाइट देखिएको थियो । एक कर्मचारीले जडान गरिएको २० दिनमै कनेक्सन प्वाइन्टबाट तार छुटेको बताए भने अर्का कर्मचारीले कुनै समस्या नभएको दाबी गरे ।

उजुरी पत्रमा उल्लेख भएअनुसार एक कर्मचारीले फोनमा निकै ठाडो बोलीमा 'राउटरमा कस्तो लाइट बलेको छ ?' भनी सोधेका थिए । जब पीडितले 'पोल सार्दा तार काटिएको हो कि ?' भनी जिज्ञासा राखे, कर्मचारीले 'हामीले केही गर्न मिल्दैन, कसले काट्यो उसैलाई सोध्नुस्' भन्दै गैरजिम्मेवार जवाफ दिएर फोन काटेका थिए ।

शिव प्रकाशले १ महिनाको बोनस सुविधाका लागि आफ्नो सहोदर भाइको बालकोटस्थित घरमा पनि सोही कम्पनीको इन्टरनेट रिफर गरेका थिए । उनका अनुसार त्यहाँ पनि जडान गरेको भोलिपल्टै टिभी चल्न छाड्यो । कम्पनीले २४ घण्टाभित्र समस्या समाधान गर्ने दाबी गरे तापनि पटक-पटकको अनुरोधपछि ८ दिनमा मात्र सेवा सुरु भएको थियो ।

शिव प्रकाशले भुक्तानी प्रक्रियामा समेत गम्भीर प्रश्न उठाएका छन् । उनका भाइले आईपीटिभी सहितको इन्टरनेट सेवा लिने क्रममा कम्पनीको आधिकारिक खातामा नभई कृशल खड्गी नाम गरेका व्यक्तिको व्यक्तिगत क्यूआर कोड प्रयोग गरी भुक्तानी लिइएको छ । ९७०००२१७४२ नम्बरसँग जोडिएको सो व्यक्तिगत कोडमार्फत पैसा लिनुले कम्पनीले कानुन विपरीत काम गरिरहेको र सर्वसाधारणलाई झुक्याएर ठगी गरिरहेको उनले आरोप लगाएका छन् ।

यसअघि सन्तोष पौडेलको नाममा रहेको सेवालाई शिव प्रकाशले आफ्नो नाममा १ वर्षका लागि थप गरी नवीकरण गरेका थिए । पैसा फिर्ता माग्दा कम्पनीले डिपोजिट रकम मात्र फिर्ता गर्ने जवाफ दिएको तर भुक्तानी रसिदमा डिपोजिट रकम कतै उल्लेख नगरिएको उनले बताए ।

१० लाख क्षतिपूर्तिको माग

कम्पनीको लापर्बाही, कर्मचारीको अपमानजनक व्यवहार, समयको बर्बादी र भोगेको मानसिक यातनाका कारण शिव प्रकाशले कानुन बमोजिम १० लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । उनले प्रमाणका रूपमा फोन कल रेकर्ड, ह्वाट्सएप मेसेज, भुक्तानी रसिद र व्यक्तिगत क्यूआर कोडका स्क्रिनशटहरू पनि प्रशासनमा बुझाएका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी समक्ष पेस गरिएको यो उजुरीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको सेवाको गुणस्तर र ग्राहकप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । पीडितले ठगी गर्ने कम्पनी र संलग्न कर्मचारीमाथि कडा कारबाही गरी उपभोक्ता अधिकारको संरक्षण गरी दिन राज्यसँग अपिल गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ १८:११