साढे २ अर्बको लगानीमा चोभार र वीरगञ्जमा ‘टियर फोर’ डेटा सेन्टर बन्दै, कहिले आउँछ सञ्चालनमा ?
बैशाख २५, २०८३ १५:११
काठमाडौँ । साढे दुई अर्ब रुपैयाँ लगानीमा नेपालमा ‘टियर फोर’ हाइपर स्केल डेटा सेन्टर स्थापना हुने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै बिजुटेन डेटा भल्ट प्रालिले कुल २४० किलोवाट क्षमताको डेटा सेन्टर निर्माण गर्न लागेको जानकारी दियो ।
कम्पनीका प्रबन्ध निर्देशक नवीन अग्रवालका अनुसार काठमाडौँको चोभारमा १२० किलोवाट र वीरगञ्जमा १२० किलोवाट गरी कुल २४० किलोवाट क्षमताको डेटा सेन्टर स्थापना गरिने छ ।यस डेटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ को सुनिश्चितता प्रदान गर्ने उनको दाबी छ ।
"यो डेटा सेन्टर वर्षमा २६ मिनेटभन्दा कम समय मात्र डाउन वा अफ हुनसक्ने सम्भावना रहन्छ," अग्रवालले टेकपानासँग भने, "यसले बैंक तथा दूरसञ्चार कम्पनीजस्ता संवेदनशील क्षेत्रहरूलाई उच्च स्तरको विश्वसनीयता प्रदान गर्छ ।" आर्टिफिसियल इन्टेलिजेन्सको कार्यक्षमता धान्नका लागि समेत यस्तो डेटा सेन्टर आवश्यक रहेको उनको भनाइ छ ।
अग्रवालले कम्पनीमा हाल शतप्रतिशत लगानी नेपाली उद्यमीकै रहेको जानकारी दिए । नेतृत्व तहमा अग्रवालसहित फेयर ग्रुपका मीन अग्रवाल, कियाल ग्रुपका अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयल छन् । उनका अनुसार प्राविधिक र नीतिगत साझेदारका रूपमा भारतको भीभीडीएन टेक्नोलोजीज, गुगल क्लाउड, एएमडी, माइक्रोन लगायतका कम्पनी रहेका छन् ।
भीभीडीएनका एआई प्रोडक्ट एन्ड पार्टनरशिप प्रमुख मनोज बिजुवालले नेपालमा टियर फोर डेटा सेन्टरको सुरुवात एउटा जग मात्र भएको बताए । "यहाँको अनुकूल वातावरणका कारण नेपाल दक्षिण एसियाकै डेटा सेन्टर हब बन्न सक्ने सम्भावना छ," उनले भने ।

प्रबन्ध निर्देशक अग्रवालका अनुसार नेपालमा डेटा सेन्टरको माग उच्च छ । उनले भने, "यो नेपालमा मात्र सीमित रहने छैन, फाइबरमार्फत विश्वभर पुग्न सकिन्छ । माग बढ्दै जाँदा ५०० किलोवाट हुँदै नेपालका अन्य भूभागमा पनि क्षमता विस्तार गरिनेछ ।" कम्पनीले सन् २०३० सम्ममा यसको क्षमता ५ मेगावाट पुर्याउने लक्ष्य राखेको छ ।
हाल दुई अर्ब ५० करोड रुपैयाँको लगानीमा सुरु हुन लागेको यो परियोजनामा क्षमता विस्तारसँगै लगानी पनि थपिँदै जाने बताइएको छ । आगामी साउनदेखि नै डेटा सेन्टर सञ्चालनमा ल्याउने गरी काम भइरहेको पनि विश्वव्यापी चिप अभाव र वर्षाका कारण निर्माणमा केही ढिलाइ हुनसक्ने अग्रवालले संकेत गरे ।
उनका अनुसार संरचनागत रूपमा काठमाडौँ र वीरगञ्ज दुवै ठाउँमा एक-एक कन्टेनर राखिने छ, जसमा सयौँ र्याक हुनेछन् । चोभारमा साढे दुई रोपनी जग्गामा मुख्य डेटा सेन्टर रहनेछ भने वीरगञ्जमा ब्याकअप डेटा सेन्टर रहनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ १५:५१
