close

चरित्रहत्या र करियर नै सिध्याउने धम्की आएको भन्दै गायक ढकालले दिए दुई फेसबुक पेज विरुद्ध उजुरी

टेकपाना टेकपाना

बैशाख २५, २०८३ १६:१०

चरित्रहत्या र करियर नै सिध्याउने धम्की आएको भन्दै गायक ढकालले दिए दुई फेसबुक पेज विरुद्ध उजुरी

काठमाडौँ । गायक रामकृष्ण ढकालले आफ्नो चरित्रहत्या गरेको भन्दै दुई फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । सामाजिक सञ्जालमार्फत आफूविरुद्ध आपत्तिजनक सामग्री सम्प्रेषण गरी मानमर्दन गरेको र आफ्नो निर्माणमा बनेको चलचित्र ‘मालती मङ्गले’लाई समेत क्षति पुर्‍याएको भन्दै ढकालले कानुनी उपचार खोजेका हुन् ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपककुमार गिरीले ढकालको उजुरी प्राप्त भएको पुष्टि गरे । “गायक ढकालले दुई फेसबुक पेजको लिङ्क पठाउँदै आफूलाई लक्षित गरी गालीगलौज र चरित्रहत्या गरिएको भन्दै कारबाहीका लागि ईमेलमार्फत निवेदन दिनुभएको छ,” प्रवक्ता गिरीले टेकपानासँग भने।

एसपी गिरीका अनुसार उजुरीमा उल्लेख गरिएका फेसबुक पेजहरूले कुन किसिमको सामग्री सम्प्रेषण गरेका हुन् भन्ने यकिन गर्न प्रहरीले थप प्रमाण माग गरेको छ। “उहाँले प्रारम्भिक रूपमा फेसबुक लिङ्क मात्र पठाउनुभएको छ। प्रमाणका लागि हामीले आवश्यक स्क्रिनशट र अन्य विस्तृत विवरण उपलब्ध गराउन आग्रह गरेका छौँ,” गिरीले भने ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मालती मङ्गले’का निर्मातासमेत रहेका ढकालले आफ्नो व्यक्तिगत प्रतिष्ठा र व्यावसायिक क्षेत्रमा आँच पुग्ने गरी सुनियोजित रूपमा दुष्प्रचार गरिएको जिकिर गरेका छन् । ढकालको उजुरीका आधारमा साइबर ब्युरोले यसबारे प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता गिरीले जानकारी दिए ।

यसैबिच गायक ढकालले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै आफूविरुद्ध भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले जापानबाट सञ्चालित ‘Kekaj Online Nepal’ नामक फेसबुक पेजले आफ्नो करियर सिध्याउने धम्की दिँदै श्रृंखलाबद्ध रूपमा मानहानीपूर्ण सामग्री फैलाइरहेको आरोप लगाएका छन् ।

“स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि धावा बोल्ने कार्य सह्य हुन सक्दैन । मेरो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा आघात पुर्‍याउने कार्यविरुद्ध मैले कानुनी लडाइँ सुरु गरेको छु,” ढकालले विज्ञप्तिमा भनेका छन् । उनले ‘Kekaj Online Nepal’ सँगै अन्य फेक आईडी र पेजलाई पनि कानुनी दायरामा ल्याउन आफूले प्रमाणसहित विवरण बुझाएको जानकारी दिएका छन् ।

आफ्नो लामो समयको मिहिनेतबाट बनेको चलचित्र ‘मालती मङ्गले’ देशभर प्रदर्शनमा आइसकेको सन्दर्भमा चलचित्रलाई लक्षित गरी भइरहेका यस्ता भ्रामक कार्यले आफूलाई थप मानसिक तनाव दिएको ढकालको भनाइ छ । उनले कानुन र न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको बताउँदै साइबर अपराधको शिकार भएका अरूका लागि पनि आफ्नो यो कदम एउटा सन्देश बन्ने विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ १६:२१