स्मार्ट टेलिकमबारे एउटा बैठक बसेको प्रमाणित गरे राजनीतिबाटै सन्न्यास लिन्छु: खरेल
बैशाख २८, २०८३ १४:५२
काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् रास्वपा सांसद जगदिश खरेलले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै यसलाई प्रमाणित गरे राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खरेलले आफूमाथि नियोजित रूपमा ‘मिडिया ट्रायल’ गरिएको भन्दै कडा आपत्ति जनाए ।
स्वीट्जरल्याण्डमा आयोजित ‘सेन्ट ग्यालेन सिम्पोजियम’ मा सहभागी भई स्वदेश फर्किएको बताउँदै खरेलले आफू अनुसन्धानको घेराबाट बच्न भागेको भन्ने समाचार भ्रामक रहेको बताए । “म पूर्वनिर्धारित कार्यक्रमका लागि सभामुख, पार्टी सभापति र परराष्ट्र मन्त्रीलाई लिखित जानकारी गराएरै स्वीट्जरल्याण्ड गएको थिएँ,” खरेलले भने, “तर केही सञ्चारमाध्यमले म सुटुक्क भागेको भनी समाचार सम्प्रेषण गरे, जुन अत्यन्तै खेदजनक छ ।”
स्मार्ट टेलिकमको ३० अर्ब बक्यौता र सम्पत्ति लिलामीको सन्दर्भमा खरेलले सदनमा चुनौती दिँदै भने, “स्मार्ट टेलिकमको सन्दर्भमा मैले मन्त्रालय वा सम्बन्धित कुनै पनि निकायमा एउटा पनि बैठक बसेको, एउटा फाइल अगाडि बढाएको वा कुनै निर्णय गरेको कसैले प्रमाणित गर्छ भने म आजकै दिनदेखि राजनीतिबाट सधैँका लागि बिदा लिन तयार छु ।”
खरेलले ‘राजधानी दैनिक’ लगायतका सञ्चारमाध्यमले आफ्नो मानमर्दन गर्ने उद्देश्यले कपोलकल्पित समाचार छापेको आरोप लगाए । उनले यसलाई ‘सी र डी ग्रेड’ को पत्रकारिताको संज्ञा दिँदै प्रश्न गरे, “यदि समाचार प्रमाणित गर्न सक्नुहुन्न भने के तपाईंहरू आफ्नो सञ्चारमाध्यम बन्द गर्न तयार हुनुहुन्छ ?”
“सत्यको सधैँ जित हुन्छ, मेरो इमान नै मेरो गन्तव्य हो । यस्ता भ्रामक प्रहारले मेरो राजनीतिक भविष्यमाथि कुनै असर पर्ने छैन,” उनले अगाडि भने । साथै, उनले सञ्चारमन्त्रीलाई प्रेस काउन्सिललाई अझ सशक्त बनाउन र भ्रामक समाचार सम्प्रेषण गर्नेमाथि कारबाही गर्न आग्रह समेत गरे ।
स्मार्ट टेलिकमको लाइसेन्स रद्द भएपछि यसको सम्पत्ति सस्तोमा एनसेललाई बिक्री गर्न खोजिएको भन्दै खरेलमाथि केही सञ्चारमाध्यमले प्रश्न उठाएका थिए । खरेलले भने आफू मन्त्री रहँदा यस विषयमा कुनै पनि औपचारिक छलफल वा बैठक नभएको जिकिर गर्दै आएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ ११:२७
