close

व्यस्त सडकमा बुलेट बाइकमा स्टन्ट गरेको भिडिओ भाइरल भएपछि राइडर पक्राउ

टेकपाना टेकपाना

बैशाख ३१, २०८३ १३:२८

व्यस्त सडकमा बुलेट बाइकमा स्टन्ट गरेको भिडिओ भाइरल भएपछि राइडर पक्राउ

 

काठमाडौँ । चितवनको व्यस्त सडकमा बुलेट बाइकमा स्टन्ट गर्ने एक युवक पक्राउ परेका छन् । गुडिरहेको बाइकको सिटमा उभिएर ह्यान्डल नै नछोइ स्टन्ट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ५ का रजनिश श्रेष्ठ रहेका छन् । ना ४५ प ९९८५ नम्बरको बुलेट बाइकमा चर्को ध्वनि निकाल्दै उनले सडकमा उक्त स्टन्ट गरेका थिए । भाइरल भिडिओकै आधारमा प्रहरी नियन्त्रणमा पुगेका उनले आफ्नो गल्ती स्वीकार गर्दै अरूलाई यस्तो जोखिमपूर्ण कार्य नगर्न सुझाव दिएका छन् ।

प्रहरीले सार्वजनिक गरेको भिडिओमा श्रेष्ठले भनेका छन्, “मैले स्टन्ट गरेको भिडिओ कसैले खिचेर हालेको रहेछ । प्रहरीले मलाई कार्यालयमा ल्याएर सम्झाई बुझाई गर्नुभयो । म सबैलाई के भन्न चाहन्छु भने, कसैले पनि यस्तो स्टन्ट नगरौँ । यसले आफूलाई पनि क्षति हुन्छ र अरूलाई पनि क्षति पुर्‍याउँछ ।”

प्रहरीले श्रेष्ठको बाइकमा जडान गरिएको ठुलो आवाज निकाल्ने (मोडिफाइड) साइलेन्सर समेत झिकिदिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ को उपदफा १ विपरीत स्वीकृति नलिई आफूखुसी ह्यान्डल परिवर्तन गरेको र चर्को आवाज निकाल्ने साइलेन्सर जडान गरेको भन्दै प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय भरतपुर पठाएको छ ।

स्टन्ट गर्ने युवकले नै सर्वसाधारणलाई सचेत गराएको भिडिओ नेपाल प्रहरीले आफ्ना आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममा सार्वजनिक गरेपछि यसले चर्चा बटुलेको छ । युवकले सडकमा स्टन्ट गरेको दृश्य र लगत्तै ती युवकले सचेत गराएको भिडिओलाई प्रहरीले जोडेर बनाएको रचनात्मक सामग्रीको अहिले प्रशंसा भइरहेको छ ।

उक्त भिडिओले फेसबुकमा १२ लाखभन्दा बढी र इन्स्टाग्राममा २१ लाखभन्दा बढी भ्युज पाइसकेको छ । त्यस्तै, टिकटकमा २० हजार एक्समा २७ हजारभन्दा बढीले यो भिडिओ हेरेका छन् । नयाँ पुस्ताका सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाउने शैलीमा सचेतनामूलक सन्देश प्रवाह गर्न थालेपछि प्रहरीको प्रशंसा हुन थालेको हो ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १३:२८