close

प्रधानमन्त्री कार्यालयको नाममा फोनबाट सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्तालाई कारबाही गर्न निर्देशन

टेकपाना टेकपाना

जेठ २, २०८३ १५:२

प्रधानमन्त्री कार्यालयको नाममा फोनबाट सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्तालाई कारबाही गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्की दिने एक व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी प्रधानमन्त्री कार्यालयको नाम लिँदै धम्क्याउने प्रकाश खड्का नामका व्यक्ति विरुद्ध कार्यालयले यस्तो कदम चालेको हो । 

सामाजिक सञ्जालमा भाइरल भएको अडियो रेकर्डमा खड्काले वडासचिव भण्डारीलाई असभ्य भाषा प्रयोग गर्दै धम्की दिइरहेको सुनिन्छ । भाइरल भइरहेको अडियोमा सुनिए अनुसार वडासचिव भण्डारीले सेवाग्राहीलाई प्रक्रियागत रूपमा मात्र सेवा प्रवाह गर्न सकिने अडान लिइरहेका छन् भने खड्काले ‘प्रधानमन्त्री कार्यालयबाटै भनिएको’ भन्दै छिटो काम गर्न दबाब दिइरहेका छन् । नियम अनुसार काम गर्ने कर्मचारीको अडानलाई खड्काले अभद्र भाषामा धम्क्याएका हुन् ।  

यस घटनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीरतापूर्वक लिएको जनाएको छ । कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादाविपरीत भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने तथा धम्क्याउने यस्ता गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य छन् ।”

प्रधानमन्त्री कार्यालयले उक्त घटना सार्वजनिक भएलगत्तै खड्कालाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सुरक्षा र अनुसन्धान निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि प्रधानमन्त्री वा सो कार्यालयको नाम लिँदै फोन वा भेटमार्फत दबाब दिएमा सो भ्रममा नपर्न र तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सार्वजनिक अपिल गरेको छ । साथै यस्ता घटनाबाट जोगिन प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण गरेर मात्र कामकारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय र कर्मचारीहरूलाई कार्यालयले आग्रह गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जिल्ला पार्टी कार्यालयले कर्माचारीलाई धम्क्याउने प्रकाश खड्काको सदस्यता निल्मबन गर्न केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ । शनिबार सचिव प्रकाशकुमार बुढाले पत्र पठाउँदै कारबाहीका लागि सिफारिस गरेका हुन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १६:१३