close

रेलिङमा ठोक्किएर दुर्घटनामा परेको बीवाईडी एट्टो-२ को भिडिओ बिस्फोट भएको दाबीसहित टिकटकमा भाइरल

टेकपाना टेकपाना

जेठ ३, २०८३ १८:५७

रेलिङमा ठोक्किएर दुर्घटनामा परेको बीवाईडी एट्टो-२ को भिडिओ बिस्फोट भएको दाबीसहित टिकटकमा भाइरल

काठमाडौँ । बाराको सिमरामा बीवाईडी ब्रान्डको नयाँ ईभी (विद्युतीय गाडी) पड्किएको दाबी सहित सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा गाडी पड्किएको भन्दै प्रचार गरिएको पनि उक्त दाबीमा सत्यता नरहेको प्रहरीले बताएको छ । 

टिकटकमा ‘Kalyani_garden’ ले शनिबार साँझ ३४ सेकेन्ड लामो भिडिओ सार्वजनिक गरेकी थिइन् । भिडिओमा बीवाईडीको एट्टो-२ मोडेलको दुर्घटनाग्रस्त गाडी देखिन्छ । नम्बर प्लेट नभएको उक्त गाडीको अगाडिको भागमा क्षति पुगेको छ । मानिसहरू वरपरबाट गाडीलाई घेरा हालेर हेरिरहेका छन् । 

उक्त भिडिओमा यो सामग्री तयार पार्दा सम्म ८ लाख ६० हजारभन्दा धेरै पटक हेरिएको छ । “भर्खर सिमरामा अन टेस्ट गाडी, भर्खरै लिएर आएको बड्याङ्ग पड्कियो । इलेक्ट्रोनिक गाडीको भर हुँदैन रहेछ है साथीहरू,” भिडिओमा भनिएको छ, “मान्छे कसैलाई केही भएन । नयाँ गाडी, भर्खर निकालेको गाडी, हेर्नु त पड्किएको ।”  

सो भिडिओमा अधिकांश प्रयोगकर्ताले कमेन्ट गर्दै ईभी गाडी जोखिमपूर्ण रहेको बताएका छन् । केहीले आफूले ईभी गाडीको प्रयोग गर्ने बारेमा सोचेपनि उक्त घटनाले अब नकिन्ने सोच बनाएको समेत उल्लेख गरेका छन् । 

सो भिडिओमा कमेन्ट गर्दै ‘Bhairab Neupane’ ले लेखेका छन्, “ईभी एक्स्चेन्ज गर्ने सोचमा थिएँ । यस्तो देखेपछि मुड चेन्ज भयो ।” केही प्रयोगकर्ताले भने तराईमा गर्मी धेरै हुने भएकाले ईभी गाडीमा जोखिम हुन सक्ने धारणा राखेका छन् । सोही भिडिओमा ‘Birshamir Rana’ ले लेखेका छन्, “तराईतिर बढी गर्मी हुन्छ । गर्मी धेरै भएर हुने सम्भावना तर यस्तो नहुन पर्ने”। अर्का प्रयोगकर्ता ‘Santosh’ ले लेखेका छन्, “गर्मी मौसममा ईभी गाडी तात्ने हुँदा अलि रिस्क हुन्छ ।” 

पैदलयात्री बचाउन खोज्दा दुर्घटना भएको हो: प्रहरी

प्रहरीका अनुसार उक्त घटना शनिबार (२ जेठ) साँझ १७:५० मा घटेको हो । अन-टेस्टमा रहेको उक्त गाडी बाटो काट्दै गरेको पैदल यात्रुलाई बचाउने क्रममा बायाँतर्फ राखिएको रेलिङमा ठोकिएर दुर्घटनामा परेको थियो । गाडीको अगाडीको भाग कुच्चिएर पूर्ण रूपमा क्षति भएको छ । तर, उक्त दुर्घटनाका क्रममा चालक भने सकुशल रहेका छन् ।

गाडी पड्किएको वा ठुलो आगलागी भएको भन्ने कुरामा सत्यता नभएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी प्रदीप क्षत्रीले बताए । दुर्घटना हुँदा रेलिङमा ठोक्किएर केही झिल्का निस्किएको वा सामान्य धुवाँ देखिएको हुन सक्ने भए तापनि सामाजिक सञ्जालमा चर्चा गरिएजस्तो गाडी विस्फोट भएको अवस्था नरहेको उनले बताए ।  डीएसपी क्षत्री भने, “टिकटकमा पड्किएको जस्तो भाष्य बनाएर भिडिओहरू राखिएका छन् । तर स्थलगत रिपोर्टिङ अनुसार यो एउटा सडक दुर्घटना हो । आगलागी भएको वा पड्किएको छैन ।”

दुर्घटनापछि गाडीलाई मर्मतका लागि लगिएको र थप कानुनी प्रक्रिया अगाडि बढिरहेको प्रहरीले जानकारी दिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ३, २०८३ १९:१५