महिलाले सडक छेउमा बेच्न राखेको काफल नगरप्रहरीले फ्याँकेको भिडिओ भाइरल, के भन्छ नगरपालिका?
जेठ ६, २०८३ १७:१४
काठमाडौँ । सडकको छेवैमा डालोमा काफल जोगाउन एक महिला सङ्घर्ष गरिरहेकी छिन् । तर, उनको दायाँ र बायाँ नगर प्रहरीको पोसाकमा भएका पुरुषहरू डालो घोप्ट्याउन प्रयासरत छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा डालोका काफल सडकमा पोख्खाएर नगरप्रहरीहरू ‘वीरेन्द्रनगर नगरपालिका नगर प्रहरी’ लेखेको भ्यानमा गएर बसेको देख्न सकिन्छ ।
व्यापार गर्न ल्याएको सबै काफल सडकमा फालिएपछि महिला निरीह देखिन्छिन् । तर नगरप्रहरी उनीतर्फ फर्किएर पनि हेर्दैनन् । केही समयपछि महिला आफ्नो हातमा रहेका प्लास्टिकका ब्यागहरूलाई भुइँमा राख्दै बस्छिन् र सडकमा छरिएका काफल टिप्न थाल्छिन् ।
यो भिडिओ केही परबाट एक युवकले जुम गरेर खिचेका छन् । भिडिओमा बोल्दै उनले उक्त दृश्य सुर्खेतको बसपार्क नजिकै रहेको बताएका छन् ।
नगरप्रहरीले महिलामाथि अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भइरहेको हो । भिडिओ भाइरल भएपछि प्रयोगकर्ताहरूले सडकमा व्यापार गर्न नमिल्ने भएमा सम्झाइ बुझाइ गरेर छाडेको भए हुने भन्दै महिलाप्रति सहानुभूति देखाएका छन् ।
फेसबुक प्रयोगकर्ता 'Chhabi Koirala' ले काफल पसलहरूमा किन्न चाहेर पनि नपाइने फल भएको बताउँदै लेखेका छन्, “यो काफल पसलमा किन्न पाइन्न, बेच्नेले पनि सडकमै घुमाएर बेच्ने हो खान मन हुनेले पनि सडक तिरै घुमाएर बेच्नेसँग किनेर खाने होला अनि यसरी बेच्न नदिएपछि आफ्नै देशमा पाइने फल खेर जाने भएन र ?”
काफल आफैँमा टिप्न निकै गाह्रो फल हुने भएकाले यसलाई बेच्न दिनुपर्ने, सडकमा फ्याँक्न नहुने भन्दै अधिकांशको धारणा छ । फेसबुक प्रयोगकर्ता ‘Kamala Poudel’ ले काफल पोख्खाउनुको सट्टामा बरु जरिवाना लिएर छाडेको भए ठिक हुने बताएकी छिन् । उनले लेखेकी छिन्, “पोख्न हात उठाउनेले कुनै कुनामा लगेर छोड्दिए हुन्न र ? बरु जरिवाना लिनु । जानकारी नभएको हुन सक्छ सम्झाउने काम त नगर प्रहरीको हैन र ? सधैं यो फल फल्दैन, वर्षमा एकपटक मात्र होला ।”
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नगरप्रहरी वा नगरपालिका प्रमुख स्वयंले माफी समेत माग्नुपर्ने माग गरेका छन् ।
के भन्छ नगरपालिका ?
वीरेन्द्रनगर नगरपालिकाका प्रवक्ता टंक प्रसाद लामिछानेका अनुसार उक्त घटना सुर्खेत बसपार्क क्षेत्रमा मंगलबार दिउँसो घटेको हो । नगर प्रहरी आफ्नो नियमित कामको सिलसिलामा बसपार्क क्षेत्रमा फुटपाथ र सडक व्यवस्थापन गर्न खटिएको क्रममा उक्त घटना भएको उनले बताए ।
“बसपार्कमा गाडी रोकिने बित्तिकै मकै, काफल लगायतका सामग्री बेच्नेहरूको भिड लाग्ने हुन्छ । त्यसलाई नगर प्रहरीले हटाउन खोजेका हुन् ।” जानाजान काफल नपोखिएको दाबी गर्दै उनले भने, “सडकमा व्यापार नगर्नुस् भन्दै नगर प्रहरीले डालो हटाउन खोज्दा र उताबाट महिलाले पनि हतार हतारमा तान्न खोज्दा खोसाखोस जस्तो अवस्था भयो । अनि अचानक डालो पल्टिएर काफल सडकमा पोखिएको हो ।”
नगरपालिकाले विगत एक वर्षदेखि बजार व्यवस्थापन र फुटपाथ खाली गराउने अभियान चलाइरहेको जानकारी दिँदै उनले सडकमा ठेलागाडा राख्नेलाई ५०० रुपैयाँसम्म जरिवाना गर्ने गरेको बताए । डोकोमा व्यापार गर्नेलाई भने सकेसम्म सम्झाइ-बुझाइ गरेर हटाउने नीति रहेको उनको भनाइ छ । यद्यपि, भिडिओमा नगरप्रहरीको रुखो व्यवहार प्रस्ट देखिएपछि नगरपालिकाको बचाउलाई सर्वसाधारणले विश्वास गरेका छैनन् ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ १७:३६
