काठमाडौँ । अब च्याटजीपीटीको सहयोगमा तयार पारिएका तस्विरहरू सहजै पहिचान गर्न सकिने भएको छ । ओपन एआईले C2PA नामक एक खुला मापदण्ड अपनाउने प्रतिबद्धता जनाएसँगै एआई तस्विर छुट्याउन सहज हुने भएको हो ।
पछिल्लो समय एआई तस्विर सिर्जना गर्ने टुलहरूको व्यापक उपलब्धता र बढ्दो गुणस्तरका कारण कुनै पनि तस्विर वास्तविक हो वा कृत्रिम (एआई) हो भनेर छुट्याउन निकै चुनौतीपूर्ण बनेको छ । यसै समस्याको समाधानमा कम्पनीले तस्विरको मेटाडेटामा एउटा स्पष्ट सङ्केत थप्नेछ । जसले उक्त तस्विर एआईद्वारा सिर्जित भएको जानकारी दिनेछ । यसका साथै कम्पनीले गुगलसँगको साझेदारीमा सिन्थ आईडी नामक एक अदृश्य वाटरमार्क पनि प्रयोगमा ल्याउने भएको छ ।
यो वाटरमार्क पत्ता लगाउन कठिन हुन्छ र खराब नियत भएका व्यक्तिहरूले यसलाई मेटाउन वा लुकाउन खोजे पनि यो सुरक्षित रहन्छ । अहिलेका लागि यी सुरक्षात्मक उपायहरू ओपनएआईका आफ्नै टुलहरूबाट सिर्जना गरिएका तस्विरहरूमा मात्र लागु हुनेछन् । यसले बजारमा रहेका अन्य कम विश्वसनीय एआई टुलहरूबाट आउने तस्विरको बाढीलाई रोक्न नसके पनि ओपनएआई आफैँ समस्याको हिस्सा नबन्ने सुनिश्चित गर्न मद्दत गर्नेछ ।
कम्पनीले एउटा सार्वजनिक भेरिफिकेसन टुलको पनि प्रिभ्यु समेत उपलब्ध गराएको छ । यस उपकरणमार्फत प्रयोगकर्ताहरूले कुनै तस्विर एआईले बनाएको हो वा होइन भनेर सजिलै परीक्षण गर्न सक्नेछन् । सुरुमा यो उपकरणले ओपनएआईका टुलहरूबाट सिर्जित सामग्री मात्र जाँच गर्ने भए पनि भविष्यमा अन्य एआई उपकरणहरूलाई पनि समेट्ने कम्पनीको योजना छ ।
सन् २०२१ मा स्थापना भएको कोलिसन फर कन्टेन्ट प्रुभनेन्स एण्ड अथेन्टिसिटी (C2PA) एक गैर-नाफामूलक संस्था हो । जसले सार्वजनिक बहसहरूमा एआई तस्विरहरूबाट हुने हानिकारक प्रभावहरू कम गर्ने उद्देश्य राख्छ । गुगलका धेरै उत्पादनहरूले यसलाई अपनाइसकेका भए पनि उद्योगभर यसको प्रयोग अझै एकरूपले हुन सकेको छैन ।
गुगलले विकास गरेको सिन्थआईडी वाटरमार्क कुनै पनि प्रकारको हस्तक्षेप वा फेरबदलका विरुद्ध बढी मजबुत छ । यो वाटरमार्क तस्विरको स्क्रिनशट लिँदा, आकार परिवर्तन गर्दा वा डिजिटल रूपमा तोडमोड गर्दा पनि तस्विरमै रहिरहने गरी डिजाइन गरिएको छ ।
ओपनएआईका अनुसार यी दुई प्रणालीहरूले एक अर्काको कमजोरीलाई हटाएर पूरकको रूपमा काम गर्नेछन् । कम्पनीले आफ्नो घोषणामा भनेको छ, "स्क्रिनशट जस्ता परिवर्तनहरूमा वाटरमार्क टिकाउ हुन सक्छ भने मेटाडेटाले वाटरमार्कले भन्दा बढी जानकारी दिन सक्छ । यी दुवैलाई मिलाएर तस्विरको स्रोत र आधिकारिकतालाई एकल तहको सुरक्षाभन्दा धेरै मजबुत बनाउन सकिनेछ ।"
पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ १७:३६
