close

डीडस साइबर आक्रमणले थलियो सरकारी ठेक्का प्रणाली ‘ई-जीपी’, बोलपत्र पेस गर्ने म्याद पटक-पटक थप

टेकपाना टेकपाना

जेठ २०, २०८३ १६:२६

डीडस साइबर आक्रमणले थलियो सरकारी ठेक्का प्रणाली ‘ई-जीपी’, बोलपत्र पेस गर्ने म्याद पटक-पटक थप

काठमाडौं । सरकारी ठेक्का प्रणाली (ई-जीपी) माथि भएको डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडस-DDos) साइबर आक्रमणका कारण विगत चार दिनदेखि सेवा ठप्प भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा आएको अवरोधका कारण कार्यालयले बोलपत्र पेस गर्ने अन्तिम म्याद निरन्तर सारेको छ ।

आइतबारदेखि सुरु भएको यो साइबर अवरोधका कारण प्रणाली नचल्दा कार्यालयले हालसम्म तीन पटकसम्म ठेक्काको म्याद थपिसकेको छ । कार्यालयका अनुसार प्रणालीमा ठुलो परिमाणमा ‘बट ट्राफिक’ पठाएर डीडएस आक्रमण भइरहेकाले ई-जीपी वेबसाइट खोल्न सकिएको छैन ।

यस किसिमको आक्रमणका कारण प्राविधिक टोलीलाई प्रणाली सञ्चालनमा आउन कठिनाइ भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले मङ्गलबार केही समयका लागि प्रणाली खुलेको भए पनि फेरि अवरोध आएको बताए । “हिजो (मङ्गलबार) केही समयसम्म खुलेको थियो, फेरि अट्याक हुन थालेपछि डाउन भयो,” प्रवक्ता आचार्यले टेकपानासँग भने, “यसलाई सक्रिय बनाउन टिम लागिरहेको छ । सम्भवतः आज साँझसम्म बन्छ होला ।”

प्रणाली सञ्चालनमा आउन नसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ र १९ जेठसम्म अन्तिम म्याद तोकिएका ठेक्काको म्याद क्रमशः बढाएर २१ र २२ जेठसम्म पुर्‍याएको छ ।

यसअघि १८ गतेको म्याद १९ गते र १९ गतेको म्याद २० गतेसम्म सारिएकोमा बुधबार पनि अवरोध कायमै रहेपछि २० गतेको म्याद २१ गते र २१ गतेको म्याद २२ गतेका लागि तय गरिएको छ । यसरी प्रणालीमा सुधार नआउँदा १८ जेठसम्म सकिनुपर्ने ठेक्काको म्याद २१ जेठसम्म र १९ गते सकिनुपर्ने ठेक्काको म्याद २२ जेठसम्म सार्न सरकार बाध्य भएको छ ।

प्रवक्ता आचार्यका अनुसार ठूलो सङ्ख्यामा ‘बट ट्राफिक’ को चाप देखिएकाले आक्रमणको स्रोत र यसलाई परिचालन गर्ने पक्षको पहिचान गर्न तत्काल कठिन भएको छ । “प्रणाली पूर्ण रूपमा सुरक्षित र स्थिर नभएसम्म म्याद थप गर्नुको विकल्प छैन,” उनले प्रष्ट पारे, “यदि यो समस्या सेवाग्राहीको तर्फबाट भएको भए नियम फरक हुन्थ्यो, तर हाम्रै प्रणालीमा समस्या आएकाले निर्माण व्यवसायी र सेवाग्राही मर्कामा नपरून् भनेर हामीले म्याद थपिरहेका हौँ ।”

वेबसाइट नचल्दा देशभरका विभिन्न सार्वजनिक निकायका खरिद प्रक्रिया र बोलपत्र आह्वानका काम प्रभावित भएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १६:५५