काठमाडौंं । करिब एक वर्षअघि नै ट्राफिक नियम उल्लङ्घन गरेबापत जरिवाना तिर्ने प्रणाली अनलाइन भइसकेको थियो । तर, मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन उल्लङ्घन, रातो बत्तीमा नरोक्ने र तीव्र गतिमा सवारी चलाउने चालकहरूका लागि भौतिक रूपमै उपस्थित भएर सचेतना कक्षा लिनुपर्ने बाध्यता कायमै थियो ।
“करिब एक घण्टाको सचेतना कक्षाका लागि चालकले अनेक दुःख गर्नुपर्ने भयो,” काठमाडौंं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्रकुमार शाह भन्छन, “छिटो होस्, सजिलो होस् भन्नका लागि अनलाइनबाट भुक्तानी गर्न सकिने सिस्टम बनाएका थियौं । तर, फेरि सचेतना कक्षाका लागि भौतिक रूपमै आउनुपर्ने भएपछि अनलाइनबाट चिट काट्ने सिस्टमको प्रभावकारिता त्यति देखिएन ।”
उनका अनुसार उपत्यकाबाहिर रहेका चालकहरूलाई नियम उल्लङ्घन गर्दा कक्षा लिन पुनः काठमाडौँ फर्कनुपर्ने झन्झट थियो । यसलाई व्यवहारिक बनाउन ट्राफिक प्रहरीले अनलाइन कक्षाको रणनीति तयार गर्यो । सोही योजना अनुरूप हाल नागरिक एपमार्फत अनलाइन कक्षाको सुरुवात गरिएको छ । यो प्रणाली पूर्ण रूपमा ट्राफिक कार्यालयले नै विकास गरेको र पछि नागरिक एपमा एकीकृत गरिएको हो ।
प्रहरी निरीक्षक शाहका अनुसार यो सम्पूर्ण प्रणाली ट्राफिक कार्यालयले नै निर्माण गरेको हो । यसलाई पछि नागरिक एपमा इन्टिग्रेट गरी अनलाइन कक्षा लिन सकिने व्यवस्था मिलाइएको हो ।
सम्पूर्ण प्रणाली तयार भएपछि २९ असार २०८२ देखि नागरिक एपबाटै ट्राफिक नियम उलङ्घन गरेका सवारी चालकले अनलाइन कक्षा लिन सकिने व्यवस्था सुरु भयो । प्रहरी निरीक्षक शाहका अनुसार हाल ९० प्रतिशत चालक नागरिक एपमार्फत अनलाइनबाटै सचेतना कक्षा लिन्छन् । अनलाइनमा पहुँच नभएका वा भौतिक रूपमै सहभागी हुन चाहनेका लागि भने पुरानै व्यवस्था कायम छ ।
यो प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) २४ सै घण्टा सक्रिय रहन्छ । चालकले आफ्नो अनुकूल समयमा कक्षा लिन सक्छन् । एआईले तोकेको मापदण्ड (थ्रेसहोल्ड) पालना नगरेमा प्रणालीले चालकलाई कक्षाबाट बाहिर (किक आउट) गरिदिन्छ ।
यदि कुनै चालक पहिलो पटक असफल भएमा वा नियम पालना नगरेमा एआईले १२ घण्टापछि मात्र पुनः प्रयास गर्न अनुमति दिन्छ । दोस्रो पटक पनि असफल भएमा वा नियम उल्लङ्घन गरेमा भने चालकले अनलाइनको सुविधा गुमाउँछन् र भौतिक रूपमै उपस्थित भएर कक्षा लिनुपर्ने हुन्छ । नेपाल सरकारका निकायमध्ये यो नै पहिलो पूर्ण एआईमा आधारित स्वचालित निगरानी प्रणाली भएको इन्स्पेक्टर शाहको दाबी छ ।
यस्तो छ कक्षा लिने प्रक्रिया र एआईको अनुहार परीक्षण
कक्षा सुरु गर्न सेवाग्राहीले सबैभन्दा पहिले नागरिक एपमार्फत तोकिएको जरिवाना भुक्तानी गर्नुपर्छ । भुक्तानी सफल भएपछि एपमा ‘टेक अनलाइन क्लास’ (Take Online Class) को विकल्प देखिन्छ । नियम र सर्तहरू स्वीकार गरिसकेपछि चालकले आफ्नो दुवै कान प्रस्ट देखिने गरी ‘लाइभ फोटो’ खिच्नुपर्छ ।
“प्रणालीले उक्त फोटोलाई नागरिक एपको केवाईसीमा रहेको फोटोसँग तुलना गर्छ । अनुहार ४० प्रतिशतभन्दा बढी मिलेपछि मात्र कक्षा सुरु हुन्छ,” शाह भन्छन् । यदि कोठामा प्रकाश कम भएमा वा क्यामेराको खराबीले अनुहार पहिचान हुन नसकेमा एआईले कक्षा सञ्चालन गर्न दिँदैन ।
करीव ३६ मिनेटको भिडिओ कक्षा अवधिभर एआईले चालकको निरन्तर निगरानी गर्छ । यदि चालकले क्यामेराबाट अनुहार हटाएमा, दायाँबायाँ हेरेमा वा अन्य व्यक्तिसँग कुरा गरेमा एआईले ६० सेकेन्डको समय दिन्छ । ६१ औँ सेकेन्डमा एआईले पहिलो चेतावनी दिन्छ र गल्ती दोहोरिएमा दोस्रो चेतावनीपछि तेस्रो पटकमा सिधै कक्षाबाट निष्कासन गरिदिन्छ ।
उत्तीर्ण हुन ३ प्रश्नको सही जवाफ अनिवार्य
भिडिओ कक्षा सकिएपछि भिडिओकै विषयवस्तुमा आधारित ६ वटा प्रश्न सोधिन्छ । उत्तीर्ण हुन कम्तीमा तीनवटा प्रश्नको सही जवाफ दिनुपर्छ । सफल भएपछि एआईले सफलताको सन्देश दिन्छ र ट्राफिक प्रहरीको ‘टीभीआरएस’ (TVRS) प्रणालीमा उक्त जरिवाना चिट स्वतः क्लियर हुन्छ । तर, प्रश्नको उत्तर दिन नसकेमा वा दुई पटकसम्म निष्कासनमा परेमा प्रणालीले नै ‘तपाईं बग्गीखाना गएर भौतिक कक्षा लिनुहोला’ भन्ने सन्देश पठाउँछ । कहिलेकाहीँ कक्षा पूरा गर्दा पनि एपमा विवरण अपडेट नभएमा एपको ‘डेटा क्लियर’ गर्ने वा अनइन्स्टल गरी पुनः इन्स्टल गर्दा समस्या समाधान हुने ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १५:१२
