अब तपाईँ हामीले गर्ने संवाद कुनै विदेशी सर्भरमा गएर बस्दैनः अर्थमन्त्री वाग्ले
जेठ २२, २०८३ २२:९
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार र नागरिकबिच हुने संवाद अब विदेशी सर्भरमा नगई स्वेदशमै रहने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले ह्वाट्सएप जस्तै आफ्नै ‘इन्क्रिप्टेड मेसेजिङ सर्भिस’ विकास गरिरहेको र अब राष्ट्रिय सुरक्षाका दृष्टिकोणले महत्त्पूर्ण संवादहरु विदेशी सर्भरमा नजाने बताएका हुन् ।
उनले भने, ‘मैले पहिला पनि उल्लेख गरेको थिए, नेपाल सरकारको आफ्नै ह्वाट्सएप जस्तो मेसेजिङ, इन्क्रिप्टेड मेसेजिङ सर्भिस आफैँले मैले हेर्न पाएँ र यो अब सजिलै स्क्यान गर्न सकिने, डकुमेन्टहरू चाहिँ सेयर गर्न सकिने जस्ता र सेक्युरिटीको हिसाबले अब तपाईँ हामीले गर्ने संवाद कुनै विदेशी सर्भरमा गएर बस्दैन । नेसनल सेक्युरिटीका हिसाबले पनि त्यो महत्त्वपूर्ण हुने नै छ ।’
मन्त्री वाग्लेले डिजिटलाइजेसनको क्षेत्रमा नयाँ अभ्यास हुन लागेको पनि जानकारी गराएका छन् । प्रधानमन्त्री कार्यालयमा डिपार्टमेन्ट अफ आईटी मर्ज हुन लागेको र नेपाल सरकारका सम्पूर्ण आईटी आवश्यकता तथा सफ्टवेयर र हार्डवेयर सरकार आफैँले बनाउने तयारी भइरहेको पनि जानकारी दिएका छन् । यो कदमबाट सरकारले १०औँ अर्ब रुपैयाँ बचत गर्ने अर्थमन्त्रीले बताएका छन् ।
यस्तै, राजस्वको क्षेत्रमा पनि कोरियन प्रविधि भन्दै ४ वर्ष वा ४ अर्ब रुपैयाँ खर्च हुने सफ्टवेयरहरू ३-४ महिना र १०-१५ करोडमै विकास गर्ने महत्त्वाकाङ्क्षा रहेको मन्त्री वाग्लेको भनाइ छ ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ २२:१९
