फिफा विश्वकप २०२६ मा एआई र मोसन सेन्सर जडित ‘ट्रिओन्डा’ बल, यस्ता छन् तपाईँले नसुनेका फिचर
जेठ २३, २०८३ १९:५
काठमाडौँ । आगामी बिहीबारदेखि फिफा विश्वकप २०२६ सुरु हुँदैछ । यस पटकको विश्वकपमा इतिहासमै सबैभन्दा धेरै ४८ टोलीहरू सहभागी हुँदैछन् भने अमेरिका, मेक्सिको र क्यानडाले यसलाई संयुक्त रूपमा आयोजना गर्दैछन् । ३९ दिनसम्म चल्ने यस महाकुम्भका लागि खेलकुद सामग्री उत्पादक कम्पनी एडिडासले ‘ट्रिओन्डा’ नामक आधिकारिक बल निर्माण गरेको छ ।
स्पेनिस भाषामा ‘ट्रिओन्डा’ को अर्थ ‘तीन छाल’ हुन्छ । यसले विश्वकप आयोजक तीन राष्ट्रको एकतालाई प्रतिविम्बित गरेको फिफाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । यस बलको निर्माणमा पुनः प्रयोग (रिसाइकल) गरिएको टीपीयू (TPU) सामग्री प्रयोग गरिएको छ ।
विश्वकपको इतिहासमा पहिलो पटक यो बलमा जम्मा चारवटा प्यानल मात्र प्रयोग गरिएको छ । यी प्यानल बलको केन्द्रमा जोडिएर एउटा त्रिभुजको आकार बन्छ । बलको डिजाइनमा क्यानडाको ‘मेपलको पात’, मेक्सिकोको ‘चील’ र अमेरिकाको ‘तारा’ को प्रतीकलाई क्रमशः रातो, हरियो र नीलो रङमा सजाइएको छ ।

जम्मा चारवटा प्यानल मात्र हुँदा बल बढी चिल्लो हुने र हावामा यसको उडान अस्थिर हुन सक्ने जोखिम रहन्छ । यसलाई सन्तुलित गर्न एडिडासले प्रत्येक प्यानलमा तीनवटा खोपिल्टा (डिम्पल) का साथै सतहमा माइक्रो-टेक्सचर र ‘इम्बोस्ड आइकन’ राखेको छ ।
हरेक विश्वकप संस्करणमा प्रयोग हुने बलमा नयाँ प्रविधि जडान गरिए झैँ यस पटक पनि सटीक डेटा उपलब्ध गराउन अत्याधुनिक सेन्सर र प्रविधिहरू समावेश गरिएका छन् ।

बलभित्र ५०० हर्जको ‘इनर्सियल मेजरमेन्ट युनिट’ (आईएमयू) मोसन सेन्सर जडान गरिएको छ । करिब १४ ग्राम तौल भएको यो सेन्सरले खेलाडीले बल छुने बित्तिकै त्यसलाई ट्र्याक गर्छ र प्रति सेकेन्ड ५०० वटा डेटा पोइन्ट सङ्कलन गर्छ ।
सन् २०२२ को ‘अल रिहला’ बलमा सेन्सरलाई बलको केन्द्रमा राखिएको थियो भने ‘ट्रिओन्डा’ मा ब्याट्री र चार्जिङ सिस्टमको व्यवस्थापनका लागि सेन्सरलाई एउटा प्यानलभित्र राखिएको छ । सेन्सर एउटा प्यानलमा मात्र हुँदा बलको सन्तुलन नबिग्रियोस् भन्नका लागि बाँकी तीनवटा प्यानलमा तौल मिलाउने ‘काउन्टरब्यालेन्स’ भारहरू राखिएको छ ।
बलभित्रको सेन्सरले रङ्गशालाको वरिपरि राखिएका ‘एन्कर पोइन्ट’ मार्फत भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) सिस्टममा वास्तविक समयमै डेटा पठाउँछ । रङ्गशालामा जडान गरिएका १६ वटा अप्टिकल ट्र्याकिङ क्यामेराले प्रति खेल १५ करोड ट्र्याकिङ डेटा पोइन्टहरू तयार गर्छन्, जसले खेलाडीको थ्रीडी अवतार निर्माण गरी रेफ्रीलाई खेलको सूक्ष्म दृश्य प्रदान गर्छ ।
आर्टिफिसियल इन्टेलिजेन्स र सेमी-अटोमेटेड अफसाइड प्रविधिको प्रयोगबाट यसले छिटो र सटिक अफसाइड निर्णय लिन तथा ह्यान्डबलका घटनाहरू पत्ता लगाउन मद्दत गर्नेछ । अफसाइडको जानकारी सिधै मैदानमा रहेका म्याच अफिसियललाई पठाइने हुनाले खेलमा हुने अनावश्यक ढिलाइ र चोटपटकको जोखिम कम हुने विश्वास गरिएको छ ।
सेन्सर सञ्चालनका लागि बलभित्र ब्याट्री राखिएको हुन्छ । जसलाई खेलअघि निश्चित चार्जिङ स्ट्यान्डमा राखेर चार्ज गर्नुपर्छ । ९० मिनेटको फुल चार्जपछि यसले निरन्तर ६ घण्टासम्म काम गर्न सक्छ । बल मैदान बाहिर हुँदा वा प्रयोगमा नआएको समयमा ब्याट्री बचत गर्न सेन्सर आफैँ ‘हाइबरनेसन मोड’ (सुषुप्त अवस्था) मा जान्छ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ १९:५
