close

ओलीको फोटो दुरुपयोग गरी बनाएको रास्वपाको नक्कली सदस्यतापत्र भाइरल, एमालेको गम्भीर आपत्ति

टेकपाना टेकपाना

जेठ २६, २०८३ ९:१५

ओलीको फोटो दुरुपयोग गरी बनाएको रास्वपाको नक्कली सदस्यतापत्र भाइरल, एमालेको गम्भीर आपत्ति

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्वीर दुरुपयोग गरेर गरी बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नक्कली सदस्यतापत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रविधिको चरम दुरुपयोग गरी पार्टी अध्यक्षको नक्कली सदस्यतापत्र बनाइएको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कार्यलाई 'निन्दनीय र निकृष्ट' भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । डिजिटल प्रविधिको सहारामा फेक आइडी, फोटोसप तथा भ्रामक सामग्री प्रयोग गरी समाजलाई भ्रमित पार्ने र शीर्ष नेताहरूको चरित्र हत्या गर्ने प्रयास स्वीकार्य नहुने आचार्यले उल्लेख गरेका छन् । आचार्यले यस्तो कार्य राजनीतिक मर्यादाविपरीत मात्र नभई नेपालको विद्युतीय कारोबार ऐन अन्तर्गत सजाययोग्य साइबर अपराध भएको दाबी गरेका छन् ।

उनले भ्रम फैलाउनेलाई तत्काल यस्ता गतिविधि रोक्न चेतावनी दिएका छन् । आचार्यले भ्रामक सामग्री उत्पादन र प्रसारण गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न साइबर ब्यूरोको ध्यानाकर्षण पनि गराएका छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ ९:२०