close

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन र गृह मन्त्रीमा सुधन गुरुङले लिए शपथ

टेकपाना टेकपाना

जेठ २६, २०८३ १७:२१

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन र गृह मन्त्रीमा सुधन गुरुङले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीद्वय महावीर पुन र सुधन गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सिफारिसमा म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री र सुधन गुरुङलाई गृह मन्त्रीको जिम्मेवारी तोकिएको छ । गुरुङले यसअघि पनि गृह मन्त्रालयकै जिम्मेवारी सम्हालेका थिए ।

जेन-जी आन्दोलनपछि गठित सरकारमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका महावीर पुनले गत ६ माघमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका पुन हाल सदनमा एक्लो स्वतन्त्र सांसद हुन् ।

पुनले लामो समयदेखि नेपालमा विज्ञान र प्रविधिका लागि छुट्टै मन्त्रालय हुनुपर्ने माग राख्दै आन्दोलन र पैरवी गर्दै आएका थिए । उनकै मागलाई सम्बोधन गर्दै सरकारले गत ३० वैशाखमा 'नेपाल सरकार (कार्य विभाजन) नियमावली २०८३' जारी गरी 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' को स्थापना गरेको थियो । पुनले अब आफ्नै पहलमा स्थापना भएको सोही मन्त्रालयको पहिलो मन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १७:२१