close

सुरक्षा जोखिम देखाउँदै एन्थ्रोपिकका शक्तिशाली एआई मोडेल बन्द गर्न अमेरिकी सरकारको निर्देशन

टेकपाना टेकपाना

जेठ ३०, २०८३ १७:३४

सुरक्षा जोखिम देखाउँदै एन्थ्रोपिकका शक्तिशाली एआई मोडेल बन्द गर्न अमेरिकी सरकारको निर्देशन

काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकले सबैभन्दा अत्याधुनिक दाबी गरिएका एआई मोडेल ‘क्लाउड फेबल ५’ र ‘मिथोस ५’को सेवा तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका विदेशी नागरिकका लागि यी मोडेलको पहुँचमा रोक लगाउन निर्देशन दिएपछि कम्पनीले यो कदम चालेको हो ।

एन्थ्रोपिकका अनुसार शुक्रबार बेलुका ५:२१ बजे (इस्टर्न टाइम) विदेशी नागरिकको पहुँचमा रोक लगाउने सरकारी निर्देशन प्राप्त भएको थियो । कम्पनीले सरकारी निर्णयमा कतिपय ‘असमझदारी’ रहेको उल्लेख गर्दै सरकारको यो निर्देशन तत्काल फिर्ता गर्नका लागि पहल भइरहेको जनाएको छ । सरकारको यस निर्देशनबाट कम्पनीका अन्य एआई मोडेलको एक्सेसमा भने कुनै असर नपर्ने स्पष्ट पारिएको छ ।

अमेरिकी सरकारले ‘फेबल ५’ को सुरक्षा प्रणालीलाई बाइपास गर्ने वा ‘जेलब्रेक’ गर्ने विधिका बारेमा जानकारी प्राप्त भएको दाबी गर्दै उक्त प्रतिबन्ध लगाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यस विषयमा एन्थ्रोपिकले भनेको छ, “हामीले उक्त विधिको प्रदर्शनको समीक्षा गरेका छौँ । यस विधिबाट केही सामान्य र पहिले नै पहिचान भइसकेका कमजोरी मात्र पत्ता लागेका छन् । यस्ता कमजोरी अन्य सार्वजनिक मोडेलले पनि विनाकुनै अतिरिक्त प्रयास फेला पार्न सक्छन् ।”

कम्पनीले हालसम्म आफ्ना नयाँ मोडेल विरुद्ध कुनै पनि सर्वव्यापी जेलब्रेक विधि फेला नपरेको दाबी गरेको छ । यससँगै क्लाडमा अहिले यो मोडेल देखिए पनि ‘करेन्टल्ली अनअभाइलेभल’ भन्ने सूचना देखिन्छ ।

एन्थ्रोफिकले सोमबारमात्र ‘क्लाउड फेबल ५’ र ‘मिथोस ५’ सार्वजनिक गरेको थियो । शुल्क तिर्ने सबै प्रयोगकर्ताका लागि यी मोडेल उपलब्ध गराएको केही दिनमै सरकारले प्रतिबन्ध लगाएको हो । ‘मिथोस ५’ मा साइबर सुरक्षासँग सम्बन्धित कतिपय प्रतिबन्ध खुकुलो बनाइएको थियो, जसले गर्दा यसलाई साइबर प्रतिरक्षा प्रणालीका लागि उपयोगी मानिएको थियो । यो मोडेल हाल अनुमतिप्राप्त साइबर डिफेन्डर र महत्त्वपूर्ण पूर्वाधार सञ्चालकको सीमित समूहका लागि मात्र उपलब्ध गराइएको थियो ।

“अहिलेको समयमा कुनै पनि एक्लो व्यक्तिले विना कुनै विशेष प्राविधिक ज्ञान र केही हजार डलर मात्र खर्च गरेर, महिनाभरिका सुरक्षा प्याचहरूलाई केही समयमै काम गर्ने ‘एक्सप्लोइट’मा बदल्न सक्छ,” एन्थ्रोपिकको रेड टिमले भनेको छ, “यसको अर्थ सफ्टवेयर डेभलपरले हाल अपनाउँदै आएको सुरक्षा अपडेट (प्याच) गर्ने परम्परागत रणनीति अब प्रभावकारी रहँदैन, जसमा महिना-महिनामा अपडेट ल्याउने, हप्तौंसम्म चरणबद्ध रूपमा अपडेट सार्वजनिक गर्ने र प्रि-रिलिजदेखि अन्तिम  स्टेबल च्यानलसम्म पुग्न समय लगाउने जस्ता पुराना तरिका पर्छन् ।”

दुरुपयोग रोक्नका लागि आफूहरूले बलियो सुरक्षा प्रणाली प्रयोग गरेको एन्थ्रोपिकले जनाएको छ । ‘फेबल ५’ मा साइबर सुरक्षा सम्बन्धी संवेदनशील प्रश्न सोधिएमा प्रयोगकर्तालाई स्वतः ‘क्लाउड ओपस ४.८’ मोडेल छानिने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।

एन्थ्रोपिकले कुनै पनि एआई मोडेल पूर्ण रूपमा सुरक्षित वा जेलब्रेक मुक्त हुन नसक्ने तर्क गरेको छ । सरकारले केवल मौखिक प्रमाण मात्र दिएको र त्यसमा प्रयोग गरिएको क्षमता ओपनएआईको ‘जीपीटी-५.५’ लगायतका अन्य मोडेलमा पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले एउटा सानो र सीमित जोखिमकै आधारमा व्यावसायिक मोडेललाई पूर्ण रूपमा बन्द गराउनु उचित नभएको भन्दै आगामी दिनमा यस्ता कानुनी र नीतिगत प्रक्रिया पारदर्शी, निष्पक्ष र प्राविधिक तथ्यमा आधारित हुनुपर्ने माग गरेको छ ।

यसअघि एन्थ्रोपिकले आफ्नो प्रविधिलाई सैन्य प्रयोजनमा प्रयोग गर्न नदिने नीति लिएपछि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले यस वर्षको सुरुमा एन्थ्रोपिकलाई ‘सप्लाई चेन जोखिम’ को सूचीमा राखेको थियो । उक्त कदमको विरुद्धमा एन्थ्रोपिकले अमेरिकी सरकार विरुद्ध दुई वटा मुद्दा दायर गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ १७:४७