काठमाडौँ । कैलालीको गोदावरीमा वन कर्मचारीले एक सर्वसाधारणको टेम्पो भीरबाट खसालेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । कैलालीको गोदावरी नगरपालिका-४ स्थित गाईमारे चुरे वन क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सुदूरपश्चिम प्रदेश सरकारले सक्रियता देखाएको हो।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्याय, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन् । मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
गत जेठ २९ गते डिभिजन वन कार्यालय धनगढीको टोली वन क्षेत्रको अतिक्रमण हटाउने अभियानमा थियो । सोही क्रममा सडक छेउमा रहेको एउटा निलो रङको टेम्पोलाई वन कर्मचारीसहितको समूहले ठेलेर भीरबाट खसालेको देखिएको छ ।
भिडिओ भाइरल भएपछि वन कार्यालयले सो टेम्पो लामो समयदेखि वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले 'खोका' वा पसलको टहराका रूपमा राखिएको दाबी गरेको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त टेम्पो चालु अवस्थामा नरहेको र केवल 'फलामे अस्थिपञ्जर' मात्र भएको जिकिर गरेको छ । वन अधिकृत दीपक यादवका अनुसार पटक-पटक हटाउन आग्रह गर्दा पनि नहटाएपछि पन्छाउन खोज्दा भौगोलिक असन्तुलनका कारण टेम्पो भीरबाट खसेको हो, जानीजानी खसालिएको होइन ।
यता, टेम्पो धनी घनश्याम धामीकी श्रीमती धनादेवी धामीले भने उक्त टेम्पो चालु अवस्थामै रहेको र कर तिरिरहेको सवारी भएको बताएकी छन् । उनले भनिन्, "हामीले गाडी घर लैजाने-ल्याउने गर्थ्यौँ । पसल हटाउन आएका कर्मचारीलाई सामान निकाल्न दिनुस् र गाडी म आफैँ घर लैजान्छु भन्दै बिन्ती गर्दा पनि उनीहरूले सुन्दै सुनेनन् र जबर्जस्ती भीरबाट खसालिदिए ।"
यसैबिच टेम्पो भीरबाट खसालेको आरोपमा प्रहरीले १० जना वन कर्मचारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार घटनाबारे थप अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ १५:४७
