अनधिकृत रूपमा विश्वकप लाइभ देखाउने ‘हुरीबतास टिभी’ सहित १ हजार बढी लिङ्क फिफाले गर्यो डाउन
असार १, २०८३ १९:२५
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमा अनधिकृत रूपमा विश्वकपका खेल प्रसारण गरिरहेका ‘हुरीबतास टिभी’ सहित एक हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । आधिकारिक प्रसारणकर्ताको अनुरोध र समन्वयमा फिफाले यी अनधिकृत बेनसाइटका लिङ्क हटाएको हो ।
नेपालमा फिफा विश्वकप प्रसारणको आधिकारिक अधिकार एसप्रो मिडिया प्रालिले पाएको छ । सो कम्पनीले टेलिभिजनबाट प्रसारण गर्ने अधिकार हिमालायन स्पोर्टस र डिजिटल प्लेटफर्मबाट प्रसारण गर्ने अधिकार डिशहोम गोलाई दिएको छ । डिशहोमले आफ्नो ओटीटी प्लेटफर्म ‘डीगो’ एपमार्फत विश्वकपको डिजिटल प्रसारण गरिरहेको छ ।
डीगोका सूचना अधिकारी आशिष लामिछानेका अनुसार नेपालमा अनधिकृत रूपमा विश्वकपका खेल प्रशारण गराइरहेका सयौं साइट एक दिनमै डाउन हुने गरेका छन् ।
लामिछानेका अनुसार पहिलो खेलदेखि नै अनधिकृत लिङ्क बन्द गराउने काम तीव्र रूपमा भइरहेको छ । “हामी आफैँले पहिचान गरेर फिफालाई बुझाएको लिङ्क मात्र ५०० भन्दा बढी थियो, जुन फिफाले पहिलो खेलकै दौरान ब्लक गरिदिएको थियो,” लामिछानेले भने, “तर हरेक दिन नयाँ-नयाँ लिङ्क आउने गर्छन् । समग्र रूपमा हेर्दा हालसम्म एक हजारभन्दा बढी त्यस्ता अनधिकृत लिङ्क ब्लक भइसकेका छन् ।”
यो कार्यमा फिफाको केन्द्रीय एन्टी-पाइरेसी टोलीले प्रत्यक्ष सहयोग गरिरहेको लामिछानेको भनाइ छ । उनका अनुसार स्थानीय रूपमा नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकले अनधिकृत साइट ब्लक गर्ने काम गरिरहेका छन् भने अन्तर्राष्ट्रिय तहमा फिफाको संयन्त्रले काम गरिरहेको छ ।
फिफाले यस्ता अवैध गतिविधि रोक्नका लागि एआई बट्स र वेब क्रलरहरू प्रयोग गर्दै आएको छ । जसले इन्टरनेटमा भइरहेका लाइभ स्ट्रिमिङका लिङ्क र सर्भरको आईपी एड्रेस सेकेन्डभरमै पत्ता लगाएर इन्टरनेट प्रदायकहरूलाई रिपोर्ट गर्छन् । यसले गर्दा खेल चलिरहेकै समयमा पनि लिङ्कहरू अचानक बन्द हुन्छन् । यसका साथै फेसबुक, युट्युब, टिकटक, टेलिग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा शेयर गरिने पाइरेटेड लिङ्कहरू फिफाको कपिराइट टिमले खेल चलिरहेकै बेला मिनेटभरमै हटाउने गर्छ ।
तर फिफाको यो प्रयासमा पनि ठुलो सीमा छ । नयाँ-नयाँ मिरर साइट, एप र डोमेन निरन्तर खुलिरहने भएकाले पूर्ण रूपमा नियन्त्रण गर्न असम्भव छ । प्रयोगकर्ताहरूले भीपीएन, प्रोक्सी वा टोर प्रयोग गरी सजिलै ब्लक बाइपास गर्न सक्छन् । एउटा साइट ब्लक भएपछि तुरुन्त अर्को नयाँ लिङ्क सक्रिय हुने र फेसबुक, मेसेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका कमेन्ट बक्समा समेत खेलका अनधिकृत लिङ्क राख्ने गरिएको पाइन्छ । यसलाई नियन्त्रण गर्न डीगोले छुट्टै आन्तरिक टोली परिचालन गरेको छ ।
“हामीले हाम्रो संयन्त्रभित्रै ‘एन्टी-पाइरेसी टिम’ राखेका छौँ,” लामिछानेले थपे, “सामाजिक सञ्जालका पोस्ट वा कमेन्टमा आउने लिङ्कलाई हाम्रो टिमले संकलन गर्छ र त्यसलाई बन्द गराउनका लागि सम्बन्धित सरोकारवाला तथा फिफासँग समन्वयन गर्छ ।”
पाइरेटेड लिङ्क तथा अनधिकृत स्ट्रिमिङ रोक्न नेपाल सरकारले पनि तदारुकता देखाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर यस्ता अनधिकृत साइट बन्द गराउन निर्देशन दिँदै आएको छ । प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले ४५ भन्दा बढी अनधिकृत प्लेटफर्म ब्लक गरिएको जानकारी दिए ।
यसरी बन्द हुनेमध्ये ‘हुरीबतास टिभी’ पनि एक हो । यो यस्तो प्लेटफर्म थियो, जसले नेपालमा प्रसारण हुने सम्पूर्ण टेलिभिजनका कन्टेन्ट एउटै प्लेटफर्मबाट देखाउने गरेको थियो । सो प्लेटफर्ममा हिमालय स्पोर्ट्सको च्यानल समेत देखिने गरेको थियो । उक्त प्लेटफर्मसहित एक हजार बढी प्लेटफर्म अहिले नेपालमा बन्द भएका छन् ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ १९:४७
