close

तुरुन्त जवाफ नदिए ‘मुद्दा चलाउँछु’ भन्दै सीआईबी प्रमुखको नाममा फेक ईमेल, यस्तो छ ठगीको शैली

टेकपाना टेकपाना

असार १९, २०८३ १६:१८

तुरुन्त जवाफ नदिए ‘मुद्दा चलाउँछु’ भन्दै सीआईबी प्रमुखको नाममा फेक ईमेल, यस्तो छ ठगीको शैली

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्ना वर्तमान तथा पूर्वप्रमुखहरूको नाम दुरुपयोग गरी सर्वसाधारणलाई त्रसित पार्ने ईमेल पठाइएको भन्दै सचेत रहन आग्रह गरेको छ । एक सूचना जारी गर्दै ब्युरोले ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसी र अन्य पूर्वप्रमुखहरूको नाममा अनधिकृत रूपमा पठाइएका यस्ता भ्रामक ईमेलको पछाडि नलाग्न सर्वसाधारणलाई सचेत गराएको हो ।

ठगी गर्ने नियतले पठाइएका ती ईमेलमा सीआईबीको नाम प्रयोग गरी कानुनी कारबाहीको धम्की दिने गरिएको पाइएको छ । विशेषगरी अङ्ग्रेजी भाषामा पठाइने ती सन्देशमा 'तपाईंविरुद्ध मुद्दा दायर भएको' र 'तुरुन्त जवाफ नदिए अदालती कारबाही हुने' जस्ता डर पैदा गर्ने भाषा प्रयोग गरिएको छ ।

के लेखिएको हुन्छ ईमेलमा ? 

ब्युरोका अनुसार स्क्यामरले पठाउने ईमेलको नेपाली अनुवाद यस्तो छ: “यस मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै, मैले व्यक्तिगत रूपमा तपाईंलाई सम्पर्क गर्ने निर्णय गरेको छु । यदि तपाईं केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आफूविरुद्ध कुनै कानुनी कारबाही होस् भन्ने चाहनुहुन्न भने, तुरुन्तै यो मेसेजको जवाफ दिनुहोस् । यदि तपाईंको तर्फबाट कुनै प्रतिक्रिया आएन भने म सीआईबीलाई अदालतमा मुद्दा दायर गर्न अनुमति दिनेछु र अदालती आदेशको प्रतिलिपि तपाईंलाई पठाइनेछ ।”

ब्युरो वा ब्युरो प्रमुखको तर्फबाट यस्ता कुनै पनि ईमेल वा सन्देश नपठाइने सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले स्पष्ट पारे । यस सम्बन्धमा ब्युरोबाट प्राविधिक अनुसन्धान भइरहेको र यस्ता गतिविधिमा संलग्नलाई पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु गरिएको उनले बताए ।

प्रवक्ता जबराले टेकपानासँग भने, “कतिपय सर्वसाधारण र कार्यालयले ब्युरोलाई प्रत्यक्ष सम्पर्क गरी यसबारे चासो राखेपछि यो गम्भीर विषय बाहिर आएको हो । धेरै ठाउँमा यस्ता ईमेल गएको र कतिपयले डरका कारण कुरा लुकाएको हुन सक्ने भएकाले हामीले सार्वजनिक रूपमै 'अलर्ट' रहन सूचना जारी गरेका हौँ ।”

उनका अनुसार स्क्यामरले सर्वसाधारणलाई प्रतिबन्धित वा यौनजन्य (पोर्नोग्राफिक) साइट हेरेको जस्ता आरोप लगाएर सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने धम्की दिँदै त्रसित बनाउने गरेका छन् । यो ईमेल कुनै निश्चित व्यक्तिलाई मात्र नभई 'र्‍यान्डम' (जथाभाबी) शैलीमा धेरैलाई पठाइएको पाइएको छ । चितवनका एक साधारण पसल सञ्चालकले समेत यस्तो ईमेल प्राप्त गरेपछि सीआईबीकहाँ सम्पर्क गरेको प्रहरीले जनाएको छ ।

सीआईबीले डिजिटल सचेतना अपनाउन आग्रह गर्दै यस्ता शंकास्पद ईमेल प्राप्त भएमा वा कुनै पनि आधिकारिक पत्राचारको पुष्टि गर्नुपरेमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८३ १६:२७