close

फेसबुकको पासवर्ड दिएकी युवतीका दाइलाई ब्रेकअपपछि केटा साथीले त्यसैबाट पठाइदिए अन्तरङ्ग फोटो-भिडिओ

टेकपाना टेकपाना

असार २२, २०८३ १३:१५

फेसबुकको पासवर्ड दिएकी युवतीका दाइलाई ब्रेकअपपछि केटा साथीले त्यसैबाट पठाइदिए अन्तरङ्ग फोटो-भिडिओ

काठमाडौं । डिजिटल प्रविधिको विकासले सम्बन्धहरूलाई जोड्न जति सजिलो बनाएको छ, त्यसको सन्तुलन मिलाउन नसक्दा निम्तिने दुर्घटना उत्तिकै भयावह र हृदयविदारक हुने गरेका छन् । प्रेम सम्बन्धमा रहँदा साटासाट गरिएको सामाजिक सञ्जालको पासवर्ड र आपसी विश्वास कसरी पछि गएर बदलाको हतियार बन्न सक्छ भन्ने एउटा डरलाग्दो र घटना गोरखामा घटेको छ ।

यो कथा हो- गोरखाकी एक १९ वर्षीया युवती धौलागिरि (परिवर्तित नाम) र राइनास-३, लमजुङका १९ वर्षीय करण तामाङको । जहाँ प्रेमको आवरणभित्र लुकेको प्रतिशोधले एउटा परिवारलाई नै गम्भीर मानसिक आघात पुर्‍याएको छ ।

फेसबुकबाट सुरु भएको प्रेम र साटिएको पासवर्ड

गोरखाकी स्थायी बासिन्दा ती युवती कक्षा १२ मा अध्ययनरत् थिइन् । करिब ३-४ वर्ष पहिले फेसबुककै माध्यमबाट उनको चिनजान लमजुङ जिल्ला, राईनास नगरपालिका-३ जेठाक (टिमुरे) बस्ने कुम्भराज तामाङ र मैतीमाया तामाङका १९ वर्षीय छोरा करण तामाङसँग भयो ।

सामान्य बोलचालबाट सुरु भएको चिनजान बिस्तारै मायाप्रेममा बदलियो । उनीहरू फेसबुक मेसेन्जरमा कुराकानी गर्ने, अडियो तथा भिडिओ कल गर्ने र समय-समयमा भेटघाट गर्ने गर्थे । करणले युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर आफ्नो मायाजालमा पारे । विवाह गर्ने कुरामा पूर्ण विश्वस्त भएकी ती युवतीले करणलाई अत्यधिक विश्वास गरिन् । यही अति-विश्वासका कारण उनीहरूले आ-आफ्नो फेसबुक आईडी र पासवर्ड समेत साटासाट गरे ।

अन्तरङ्ग भिडिओ-फोटो र ब्रेकअप

गत माघमा उनीहरूबिच आपसी सहमतिमा भेटघाट भएको थियो । सोही भेटघाटका क्रममा उनीहरूबिच शारीरिक सम्बन्ध समेत रहन गयो । त्यस बखत करणले 'यो हाम्रो गोप्य कुरा हो, कसैलाई देखाउँदिनँ र सार्वजनिक पनि गर्दिनँ' भनेर धौलागिरिलाई विश्वासमा लिए र मोबाइलमा केही अन्तरङ्ग फोटो र भिडिओहरू खिचेका थिए ।

तर, समय सधैँ एकनास रहँदैन । विस्तारै करणले युवतीमाथि अनावश्यक रूपमा शङ्का-उपशङ्का गर्न थाले । सम्बन्धमा खटपट बढ्दै गएपछि करणले ती तस्बिरहरूलाई हतियार बनाएर युवतीलाई मानसिक यातना दिन सुरु गरे ।

'यदि मसँग सम्बन्ध नराखे वा मैले भनेको नमाने फोटो र भिडिओ सार्वजनिक गरिदिन्छु' भन्दै उनले ब्ल्याकमेल गर्न थाले । पीडित धौलागिरिले त्यसो नगर्न भन्दै पटक-पटक अनुनय-विनय गरिन्, तर करण बदलाको भावनामा जलिरहेका थिए ।

अनि दाइलाई नै पठाइदिए अन्तरङ्ग फोटो

सम्बन्धमा ब्रेकअप भएपछि करणले क्रूर र अपमानजनक बाटो रोजे । गएको ६ चैतको बिहान, रोजगारीको सिलसिलामा दुबईमा रहेका धौलागिरिका आफ्नै दाइलाई फेसबुक मेसेन्जरमा एउटा मेसेज प्राप्त भयो । अचम्मको कुरा, त्यो मेसेज उनकै बहिनीको फेसबुक आईडीबाट आएको थियो ।

तर, त्यो मेसेज बहिनी आफैँले भने पठाएकी थिइनन् । करणसँग पहिले नै फेसबुक पासवर्ड सुरक्षित भएकाले उनले धौलागिरिको अकाउन्ट अनधिकृत रूपमा लगइन गरेर दाइको मेसेन्जरमा ती अन्तरङ्ग र नग्न अवस्थाका फोटोहरू पठाइदिए । आफ्नै बहिनीको आईडीबाट त्यस्ता अश्लील तस्बिरहरू आएपछि दाइ छाँगाबाट खसेजस्तै भए । उनले तुरुन्तै दुबईबाट बहिनीलाई फोन गरेर यसबारे सोधपुछ गरे ।

करणको हर्कत यतिमै रोकिएन । उनले युवतीकै फेसबुक अकाउन्ट प्रयोग गरेर नेपालमा रहेका उनका अन्य आफन्त र चिनजानका मानिसहरूलाई समेत ती फोटो भिडिओ पठाए ।

युवतीका काका नाता पर्नेलाई पनि मेसेन्जरमा उक्त आईडीबाट एउटा मेसेज आयो । त्यो खोल्दा उनले आफ्नी भतिजी एक अपरिचित केटासँग आपत्तिजनक र नग्न अवस्थामा रहेको मोबाइल स्क्रिनसट देखे । आफ्नै भतिजीको यस्तो तस्बिर देखेपछि स्तब्ध भएका उनले तुरुन्तै युवतीको बुबाको घरमा गएर यसबारे जानकारी गराए ।

त्यसैगरी, युवतीकी अर्की आफन्तका श्रीमान् पनि वैदेशिक रोजगारीमा थिए । ६ चैतको राति नै उनका श्रीमानले विदेशबाट फोन गरेर धौलागिरिको आईडीबाट मेसेन्जरमा उनको नग्न तस्बिर र स्क्रिनशट आएको जानकारी दिए ।

यसरी करणले युवतीको फेसबुकको पासवर्ड प्रयोग गरी उनको अकाउन्टमा अनधिकृत प्रवेश गरेर परिवार र समाजमा उनको चरित्र हत्या गर्ने, अपमानित गर्ने र सार्वजनिक रूपमा बेइज्जत गर्ने काम गरे ।

अब के हुन्छ कारबाही ?

आफ्नो इज्जत र सामाजिक प्रतिष्ठामा गम्भीर धक्का लागेपछि पीडित युवतीले कानुनी उपचार खोज्ने निर्णय गरिन् । उनले ८ चैत २०८२ मा जिल्ला प्रहरी कार्यालय, गोरखामा अभियुक्त करण तामाङ विरुद्ध जाहेरी दिइन् ।

प्रहरीले घटनाको प्राविधिक अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानका क्रममा मेसेन्जरमा पठाइएका ती आपत्तिजनक तस्बिरका स्क्रिनशटहरू, डिजिटल सञ्चारका माध्यमहरू र साक्षीहरूको बयानलाई मुख्य प्रमाणको रूपमा सङ्कलन गरिएको छ ।

घटनाको समयमा पीडित युवतीको उमेर १९ वर्ष ५ महिना १३ दिन रहेको देखिएको छ । जसले उनी कानुनतः वयस्क रहेको र यो घटना विशुद्ध साइबर अपराध र चरित्र हत्यासँग सम्बन्धित रहेको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय, गोरखाले केही दिन अघि मात्र गोरखा जिल्ला अदालतमा अभियुक्त करण तामाङ विरुद्ध अभियोग-पत्र दायर गरेको छ ।

अभियोग-पत्रमा प्रतिवादी करण तामाङले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको दाबी गरिएको छ ।

विद्युतीय स्वरूपमा गैरकानुनी र अश्लील सामग्री प्रकाशन गरी महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने र चरित्र हत्या गरेको कसुरमा अभियुक्त करणलाई १ लाख रुपैयाँसम्म जरिबाना, ५ वर्षसम्म कैद वा दुवै सजाय गर्न माग गरिएको छ । त्यस्तै विद्युतीय कारोबार ऐन, २०६३ को दफा ७६ बमोजिम पीडित युवतीलाई परेको मानसिक आघात र चरित्र हत्याबापत प्रतिवादी करण तामाङबाट मनासिब क्षतिपूर्ति दाबी गरिएको छ । अपराध पीडित संरक्षण ऐन, २०७४ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत माग गरिएको छ ।

प्रतिवादी फरार, पकडाउ पुर्जी जारी गर्न अनुरोध

हाल अभियुक्त करण तामाङ फरार रहेका छन् । प्रहरीले उनको गृह जिल्ला लगायतका स्थानमा खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि अदालत समक्ष अभियोग-पत्र पेस गर्दै उनको नाममा पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।

यो घटनाले सामाजिक सञ्जालको बढ्दो प्रयोग र प्रेम सम्बन्धमा गरिने सानो असावधानी (विशेष गरी पासवर्ड शेयरिङ र संवेदनशील फोटो-भिडिओ खिच्न दिनु) ले कति ठुलो पारिवारिक र सामाजिक मूल्य चुकाउनुपर्छ भन्ने गम्भीर पाठ सिकाएको छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ १३:१५