युवतीमाथि अश्लील हर्कत गर्ने व्यक्त्ति शिक्षा अधिकृत रहेको खुलासा, इमाडोलबाटै पक्राउ
असार २२, २०८३ १४:६
काठमाडौं । ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग खोलेर देखाउने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि सक्रिय भएको प्रहरीले ती पुरुषलाई सोमबार इमाडोलबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाजुरा स्थायी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् । प्रहरी अनुसन्धानका क्रममा भट्ट सरकारी कर्मचारी रहेको खुलेको छ । उनी शिक्षा क्षेत्रमा कार्यरत अधिकृत स्तरका कर्मचारी (शिक्षा अधिकृत) रहेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । उनी रक्षा मन्त्रालयमा कार्यरत रहेको खुलेको छ ।
आइतबार साँझको उक्त घटनाबारे प्रहरीले सोमबार जानकारी प्राप्त गरेको थियो । जानकारी प्राप्त हुने बित्तिकै खोजी अगाडि बढाएकोमा उनलाई सोमबार इमाडोलबाटै नियन्त्रणमा लिइएको हो ।
प्रहरीले आरोपी भट्टलाई नियन्त्रणमा लिए लगत्तै पीडित युवतीलाई समेत सम्पर्क गरेको छ । एसपी मिश्रका अनुसार पीडित युवती जाहेरीका लागि प्रहरी कार्यालय उपस्थित हुँदै छिन् । “उहाँ कार्यालयमा आउँदै हुनुहुन्छ । उहाँले औपचारिक रूपमा जाहेरी दिएपछि आरोपी विरुद्ध थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ,” उनले भने ।
आइतबार साँझ करिब साढे ६ बजेतिर टिकटकमा पीडित युवतीले भिडिओ अप्लोड गरेकी थिइन् । भिडिओमा भट्टले युवतीलाई देखेर आफ्नो लुगा खोली अश्लील व्यवहार देखाएको भन्दै युवतीले प्रतिकार गरिहरेकी थिइन् । धेरैजसो पीडित मौन बस्ने वा डराएर भाग्ने यस्तो परिस्थितिमा ती युवतीले भने प्रतिकार गरेर साहस देखाएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असार २२, २०८३ १४:४०
