मेटाको नयाँ एआईले इन्स्टाग्रामबाट बनाउन सक्छ तपाईंको तस्विर, गोपनीयता जोगाउन यसरी रोक्नुहोस्
असार २५, २०८३ १२:२०
काठमाडौं । मेटाको नयाँ एआई इमेज जेनेरेटरमा एउटा अचम्मको फिचर थपिएको छ, जसले मानिसहरूलाई अरूको पब्लिक इन्स्टाग्राम अकाउन्टमा रहेका फोटो प्रयोग गरेर नयाँ एआई तस्बिर बनाउने अनुमति दिन्छ । इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई मेटाको यो नयाँ फिचरमा स्वचालित रूपमा (अटो-इनरोल) आबद्ध गराइएको छ र उनीहरूको अकाउन्ट प्रयोग गरेर एआई तस्बिरहरू बनाइँदा उनीहरूलाई कुनै सूचना समेत दिइएको छैन ।
मेटाले मङ्लबार म्युज इमेज (Muse Image) नामक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेटर सार्वजनिक गर्दा, यसमा अन्य प्रयोगकर्ताको इन्स्टाग्राम फोटोका आधारमा नयाँ एआई तस्बिरहरू बनाउन मिल्ने फिचर पनि समावेश गरिएको छ । पब्लिक इन्स्टाग्राम अकाउन्ट भएका प्रत्येक वयस्क प्रयोगकर्तालाई यो फिचरमा स्वतः समावेश (अप्टेड इन) गरिएको छ ।
कम्पनीको छुट्टै च्याटबट एप मेटा एआई प्रयोग गरेर अन्य प्रयोगकर्ताले नयाँ एआई तस्बिर सिर्जना गर्नका लागि तपाईंका पब्लिश फोटोहरूमध्ये केही वा सबै प्रयोग गर्न सक्ने कुरा कम्पनीले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ ।
"यसका साथै, मानिसहरूले मेटामा रहेका एआई फिचरहरूको प्रयोग गरी तपाईंका इन्स्टाग्राम सामग्रीहरूबाट नयाँ सामग्री सिर्जना गर्न सक्नेछन्," कम्पनीले थपेको छ ।
कसरी काम गर्छ ?
मेटा एआई एपमा कुनै पनि प्रयोगकर्ताले अर्को व्यक्तिको पब्लिक इन्स्टाग्राम अकाउन्टलाई ट्याग गरेर उक्त व्यक्तिको अकाउन्टमा रहेका फोटोहरूको आधारमा नयाँ एआई फोटो बनाउन च्याटबटलाई निर्देशन दिन सक्छ । गोपनीयतालाई लिएर यो फिचरको धेरैले चर्को विरोध गरिरहेका छन् ।
प्रयोगकर्ताहरूलाई स्वतः यस फिचरमा आबद्ध गराउनुका साथै उनीहरूको अकाउन्ट प्रयोग गरेर एआई तस्बिरहरू बनाइँदा मेटाले सम्बन्धित व्यक्तिलाई कुनै जानकारी समेत दिने गरेको छैन । प्रयोगकर्ताको सहमतिबिना नै यसो गरिएको भन्दै कम्पनीको आलोचना हुन थालेको हो । सँगसँगै यो फिचरबाट कसरी बाहिरिने (अप्ट आउट गर्ने) भनेर कयौं प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि समेत पोखिरहेका छन् । एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा यो फिचरलाई 'विस्फोट हुन ठिक्क परेको गोपनीयताको बारुदी सुरुङ' भनेका छन् भने इन्स्टाग्रामका अन्य प्रयोगकर्ताहरूले यसलाई कसरी बन्द गर्ने भन्नेबारेका टेम्प्लेटहरू शेयर गरिरहेका छन् ।
मेटाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै प्राइभेट अकाउन्टहरू र १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई यो नयाँ फिचरमा समावेश नगरिएको र यसलाई 'केही क्लिकमै' बन्द गर्न सकिने स्पष्ट पारेका छन् ।
अब के गर्ने ?
यो फिचरबाट बाहिरिन र आफ्नो अकाउन्ट सुरक्षित राख्ने सबैभन्दा सजिलो उपाय भनेको आफ्नो अकाउन्टलाई 'प्राइभेट' (निजी) बनाउनु नै हो । तर यदि तपाईं आफ्नो अकाउन्टलाई पब्लिक नै राख्न चाहनुहुन्छ भने, इन्स्टाग्रामको Settings (सेटिङ्स) मा जानुहोस् र तल स्क्रोल गर्दै Sharing and reuse (शेयरिङ एन्ड रियुज) ट्याबमा जानुहोस् । त्यहाँ रहेको Allow people to reuse your content on Instagram and with AI features शीर्षकको सेक्सनमा गई उक्त सेटिङलाई बन्द (अफ) गर्नुहोस् ।
यो फिचर रोलआउटकै चरणमा रहेको छ । यदि तपाईंको इन्स्टाग्राम अकाउन्टमा देखिएको छैन भने उपलब्ध भएपछि यो सेटिङ मिलाउन सक्नु हुनेछ ।
तपाईंले व्यक्तिगत तस्बिर र भिडिओहरूका लागि पनि छुट्टाछुट्टै एआई सेटिङहरू परिवर्तन गर्न सक्नुहुन्छ । यद्यपि, प्रयोगकर्ताहरूले आफ्ना अडियो, टेक्स्ट र कमेन्टहरूलाई मेटाको एआईद्वारा पुनः प्रयोग हुनबाट रोक्न नसक्ने कम्पनीले जनाएको छ ।
उमेर नपुगेका प्रयोगकर्ताहरूको अकाउन्ट पब्लिक भए पनि त्यसबाट एआई तस्बिरहरू बनाउन नमिल्ने कम्पनीले बताएको छ । साथै, किशोर प्रयोगकर्ताहरूलाई अन्य व्यक्तिको अकाउन्टमा यो फिचर प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
अन्य एआई कम्पनीले पनि यस्तै गर्छन् ?
च्याटजीपीटी निर्माता एआई कम्पनी ओपनएआईले पनि आफ्नो एआई भिडिओ जेनेरेटर सोरा (Sora) सार्वजनिक गर्दा गोपनीयतासम्बन्धी यस्तै विवादको सामना गर्नु परेको थियो । तर त्यसमा एउटा ठुलो भिन्नता के थियो भने, भिडिओमा कुनै व्यक्तिको स्वरूप (likeness) प्रयोग गर्नका लागि सम्बन्धित प्रयोगकर्ता आफैंले सहमति (अप्ट इन) दिनु पर्थ्यो । सञ्चालन गर्न अत्यधिक महँगो भएका कारण पनि ओपनएआईले गत मार्च महिनामा सोरा बन्द गरेको थियो ।
मेटाको यो नयाँ एआई इमेज जेनेरेटर इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप र थ्रेड्स लगायतका आफ्ना सामाजिक सञ्जाल एपहरूमा समेत विस्तार हुने बताइएको छ । एआई तस्बिरहरूसँगै, कम्पनीले विभिन्न व्यक्तित्वहरू भएका एआई पात्रहरू (AI characters) पनि ल्याएको छ । जससँग प्रयोगकर्ताहरूले च्याट गर्न सक्छन् । कम्पनीले आगामी महिनाहरूमा एआई भिडिओ जेनेरेटर Muse Video पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ १२:२४
