काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा सेन्टर, सूचना प्रविधि, नवीकरणीय ऊर्जा तथा डिजिटल पूर्वाधारलगायतका क्षेत्रमा लगानी र सहकार्य गर्न सकारात्मक रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र नेपाल भ्रमणमा रहेका यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयौदी नेतृत्वको प्रतिनिधिमण्डलबिच शुक्रबार भएको द्विपक्षीय भेटवार्तामा यूएईले नेपालसँग सहकार्य गर्न तयार रहेको बताएको हो ।
भेटमा यूएईका वैदेशिक व्यापारमन्त्री डा. अल जेयौदीले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, एआई, डेटा सेन्टर, खाद्य सुरक्षा, गुणस्तरसम्बन्धी पूर्वाधार निर्माण, डिजिटल मार्केटिङ, डेटा व्यवस्थापन तथा व्यापारसम्बन्धी लजिस्टिक्स पूर्वाधारका क्षेत्रमा सहकार्य गर्न यूएई तयार रहेको बताएका थिए ।
यता, मन्त्री कुमारीले नेपाल-यूएई सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशबीच राजनीतिक, आर्थिक तथा लगानी साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका थिइन् । साथै, जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, एआई तथा डेटा सेन्टरजस्ता क्षेत्रमा यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न पनि आग्रह पनि गरिएको मन्त्रालयले जानाएको छ ।
त्यसैगरी नेपालबाट चिया, कफी, अलैँची, ताजा फलफूल, तरकारी, दुग्धजन्य पदार्थ तथा स्प्रिङ वाटरजस्ता नेपाली उत्पादनको यूएई निर्यात प्रवर्द्धनका लागि सहयोग गर्न पनि नेपालले आग्रह गरेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल-यूएई व्यापक आर्थिक साझेदारी सम्झौता (CEPA) र द्विपक्षीय लगानी सम्झौता (BIA) लाई यथाशीघ्र टुंग्याउने विषयमा समेत छलफल भएको थियो । दुवै पक्षले व्यापार, लगानी, पर्यटन तथा श्रम क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसका साथै यूएईमा कार्यरत नेपाली श्रमिकको हित संरक्षण, प्रहरी चारित्रिक प्रमाणपत्र पुनः प्रमाणीकरणसम्बन्धी अतिरिक्त शुल्क हटाउने तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएईसँग प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने विषयमा पनि नेपाली पक्षले आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २८, २०८३ १४:१३
