close

मौसमको जानकारी दिने आधिकारिक सरकारी एप-नेपाल वेदर अफिसियल, एन्ड्रोइड-आईओएस दुवैमा उपलब्ध

टेकपाना टेकपाना

असार २९, २०८३ ९:१६

मौसमको जानकारी दिने आधिकारिक सरकारी एप-नेपाल वेदर अफिसियल, एन्ड्रोइड-आईओएस दुवैमा उपलब्ध

काठमाडौं । नेपाल सरकारले मौसम सम्बन्धी सटीक, भरपर्दो र समय सापेक्ष जानकारी उपलब्ध गराउने उद्देश्यले आफ्नो आधिकारिक मोबाइल एप नेपाल वेदर अफिसियल (Nepal Weather Official) सार्वजनिक गरेको छ । यो एप सरकारको जल तथा मौसम विज्ञान विभाग (DHM) र राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) को सहकार्यमा विकास गरिएको हो ।

देशका विभिन्न क्षेत्रको मौसम पूर्वानुमान र बाढी-पहिरो जस्ता प्राकृतिक विपद्को पूर्वजानकारी नागरिकसम्म छिटो पुर्‍याउन यो एप निकै उपयोगी साबित हुने सरकारको विश्वास छ । यो नयाँ एप्लिकेसन एन्ड्रोइड र आईओएस (एप्पल) दुवै प्लेटफर्ममा उपलब्ध गराइएको छ ।

यस एपमार्फत प्रयोगकर्ताहरूले तत्कालै मौसम सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । एप खोल्ने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो स्थानको तत्कालको तापक्रम, महसुस हुने तापक्रम (Feels like), वायुको गुणस्तर सूचकाङ्क (AQI), आर्द्रता (Humidity) र वर्षाको अवस्था हेर्न सक्छन् । यसका साथै हावाको गति, दिशा र वायुमण्डलीय चापको विवरण पनि यसमा समावेश छ ।

एपको होम पेजमै ३ दिनको मौसम पूर्वानुमान हेर्न सकिने व्यवस्था मिलाइएको छ । थप विवरणका लागि View More मा गएर घण्टा-घण्टाको अपडेट र साप्ताहिक (७ दिने) पूर्वानुमान हेर्ने व्यवस्था मिलाइएको छ ।

भारी वर्षा, चट्याङ, बाढी तथा पहिरोको जोखिमबारे एपले प्रयोगकर्तालाई तत्काल स्मार्ट र पुश नोटिफिकेसनमार्फत सचेत गराउने बताइएको छ । यसले विपद् व्यवस्थापन र जनधनको सुरक्षामा ठुलो सहयोग पुग्ने देखिन्छ ।

नेपालका प्रमुख ट्रेकिङ क्षेत्रहरूका लागि विशेष मौसम पूर्वानुमान, उच्च हिमाली क्षेत्रको मौसमी अवस्था, हिमपात र भिजिबिलिटी (Visibility) को जानकारी पनि एपमा राखिएका छन् ।

नदीहरूको जलस्तर, बाढीको पछिल्लो अवस्था र वर्षा मापन केन्द्रहरूको प्रत्यक्ष विवरण एपमार्फत सजिलै ट्र्याक गर्न सकिन्छ । एपमा स्याटलाइट तस्बिरहरू, वर्षा मापन गर्ने राडार र तापक्रमको उतारचढाव देखाउने नक्साहरू समावेश गरिएका छन् ।

यो एप्लिकेसन एन्ड्रोइड प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा र आईओएस प्रयोगकर्ताले एप स्टोरमा Nepal Weather Official सर्च गरेर डाउनलोड गर्न सक्छन् ।

यो एप प्रयोगकर्तामैत्री र बहुभाषिक इन्टरफेस (Multilingual Interface) मा डिजाइन गरिएको छ, जसले गर्दा मोबाइल र ट्याब्लेट दुवैमा यसलाई सहजै चलाउन सकिन्छ । तर एपका कतिपय फिचर लोड हुने क्रममा सुस्तता र त्रुटि देखिने समस्या पनि छ ।

 

पछिल्लो अध्यावधिक: असार २९, २०८३ ९:२०