close

प्राधिकरणको नेतृत्वमा 'इन्साइडर' को इन्ट्री: अर्जुन घिमिरे बने नयाँ अध्यक्ष

टेकपाना टेकपाना

असार २९, २०८३ १६:२६

प्राधिकरणको नेतृत्वमा 'इन्साइडर' को इन्ट्री: अर्जुन घिमिरे बने नयाँ अध्यक्ष

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले प्राधिकरणकै निर्देशक एवं निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका घिमिरेलाई आगामी कार्यकालका लागि नेतृत्व सुम्पने निर्णय गरेको हो ।

अध्यादेशमार्फत प्राधिकरणको सिङ्गो बोर्ड रिक्त भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो । यो प्रतिस्पर्धी प्रक्रियामा अध्यक्ष पदका लागि घिमिरेसहित ३२ जनाले आवेदन दिएका थिए । प्राप्त ३२ आवेदनमध्येबाट मन्त्रालयले ९ जनाको सङ्क्षिप्त सूची (शर्टलिस्ट) तयार पारेको थियो । उक्त सूचीमा घिमिरेसँगै अनन्त मान सिंह, अनिल कुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधु सुदन दाहाल, राजिब सुब्बा, सलाउल्लाह खान र सुशील प्रसाद साह रहेका थिए । २४ असारमा भएको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सरकारले अनुभवी र आन्तरिक उम्मेदवार घिमिरेलाई नै अध्यक्षमा चयन गरेको हो ।

२०६० सालमा सहायक निर्देशक पदबाट दूरसञ्चार प्राधिकरणमा प्रवेश गरेका घिमिरेसँग नियामक निकायमा दुई दशकभन्दा लामो अनुभव छ । उनले प्राधिकरणको प्रशासन, उपभोक्ता हित संरक्षण लगायतका विभिन्न महत्वपूर्ण शाखा तथा महाशाखामा रहेर काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका घिमिरेले अब दूरसञ्चार क्षेत्रको नीतिगत सुधार र नियमनकारी निकायको नेतृत्व गर्नेछन् । सोमबार मन्त्रालयमा नवनियुक्त अध्यक्ष घिमिरेको शपथ ग्रहणको तयारी चलिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ । 

पछिल्लो अध्यावधिक: असार २९, २०८३ १६:३२