close

जब छिमेकी भाउजूको मोबाइलको लक थाहा पाएका देवरले नग्न फोटो चोरेर गाउँभरीका साथी-भाइलाई पठाइदिए

टेकपाना टेकपाना

असार ३१, २०८३ ८:४०

जब छिमेकी भाउजूको मोबाइलको लक थाहा पाएका देवरले नग्न फोटो चोरेर गाउँभरीका साथी-भाइलाई पठाइदिए

काठमाडौं । छिमेकीको आउजाउ र आपसी विश्वास गाउँघरको एउटा सामान्य पाटो हो । तर, त्यही विश्वासलाई हतियार बनाएर एक युवकले 'भाउजू' नाता पर्ने आफ्नै छिमेकी महिलाको निजी जीवनमाथि ठुलो खेलबाड गरेका छन् ।

धनुषाको सहिदनगर-६ का २६ वर्षीय मरिचाल लाल भन्ने कृष्णाकुमार मण्डलले छिमेकी महिलाको मोबाइलको लक थाहा पाएको फाइदा उठाउँदै उनको गोप्य अङ्गका तस्बिरहरू चोरी गरी गाउँभर फैलाएको खुलासा भएको छ । पीडित महिलाका श्रीमान् विगत लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् ।

घरमा दुई छोरा र दुई छोरीको लालनपालन गर्दै बसेकी ती महिलाको घरमा छिमेकी भएकाले कृष्णाकुमार नियमित आउजाउ गर्थे । नाताले उनी देवर पर्थे । सोही आउजाउका क्रममा उनले ती महिलाले चलाउने पोको कम्पनीको मोबाइलको लक (पासवर्ड) थाहा पाएका थिए ।

घटना गत जेठ महिनाको हो । पीडित महिलाले आफ्नो मोबाइल घरको बरन्डामा चार्जमा राखेर घरभित्रको काममा व्यस्त थिइन् । त्यही मौका छोपी कृष्णाकुमारले मोबाइलको लक खोलेर ग्यालरी सर्च गरे ।

त्यस क्रममा उनले ती महिलाका निजी र संवेदनशील तस्बिरहरू भेट । अनि आफ्नो ओप्पो कम्पनीको मोबाइलमा पठाएर लुकाइछिपाइ राखे । बयानका क्रममा कृष्णाकुमारले पछि हेर्न पाउँछु र गाउँघरका अन्य साथीहरूलाई समेत देखाउन सजिलो हुन्छ भनेर आफूले ती महिलाका गोप्य अङ्ग देखिने फोटो आफ्नो मोबाइलमा सारेको बताएका छन् ।

तस्बिर चोरी गरेपछि कृष्णाकुमारले ती फोटोहरू आफैँमा सीमित राखेनन् । उनले गाउँकै २१ वर्षीय रविकुमार मण्डललाई ती तस्बिरहरू देखाए र ह्वाट्सएपमार्फत पठाइदिए । त्यसपछि ती तस्बिरहरू क्रमिक रूपमा गाउँका अन्य साथीभाइ र छरछिमेकीका मोबाइलसम्म पुग्न थाले ।

जब ती तस्बिरहरू गाउँलेहरूबिच निकै चर्चाको विषय बन्न थाले र महिलाले आफ्ना गोप्य तस्बिरहरू अरूको हातमा पुगेको थाहा पाइन्, तब मात्र घटना बाहिर आएको हो । आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले तस्बिर फैलाइएको भन्दै महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् ।

प्रहरीले अनुसन्धानका क्रममा कृष्णाकुमार र रविकुमार दुवैलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट बरामद गरिएको मोबाइल परीक्षण गर्दा ह्वाट्सएपमा ती तस्बिरहरू आदानप्रदान भएको प्रमाण फेला परेको छ । प्रहरीले खिचिएका तस्बिर र भिडिओहरू प्रमाणका रूपमा पेनड्राइभमा राखेर अदालतमा पेस गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाले दुवै अभियुक्त विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ । उक्त ऐन अनुसार कम्प्युटर वा इन्टरनेटको माध्यमबाट सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

साथै, पीडित महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै क्षतिपूर्तिको समेत माग गरेकी छन् । हाल यो मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ ।

 

पछिल्लो अध्यावधिक: असार ३१, २०८३ ८:४८