close

सरकारी कर्मचारी सुनिल पौडेलले विदेशी कम्पनीसँग डलरमा ३ करोड ८ लाख बराबर घुस लिएको प्रमाणित

टेकपाना टेकपाना

असार ३१, २०८३ १७:४

सरकारी कर्मचारी सुनिल पौडेलले विदेशी कम्पनीसँग डलरमा ३ करोड ८ लाख बराबर घुस लिएको प्रमाणित

काठमाडौं । भ्रष्टाचारका विभिन्न मुद्दामा एकपछि अर्को गर्दै दोषी ठहर भइरहेका राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का पूर्व कार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल अर्को घुस मुद्दामा पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार पौडेललाई परामर्श शुल्कका नाममा अमेरिकी डलरमा घुस लिएको ठहर गर्दै भ्रष्टाचार मुद्दामा कसुरदार ठहर गरेको हो ।

अदालतले घुस दिने कार्यमा संलग्न एफ-५ (F5) का नेपाल प्रतिनिधि दिपक आनन्द सिंहलाई समेत दोषी ठहर गरेको छ ।

अदालतको फैसलाअनुसार सुनिल पौडेलले एनआईटीसीको ‘सेक्युरिटी एप्लिकेसन र नेटवर्क इक्विपमेन्ट’ खरिद गर्ने ठेक्का प्रक्रियामा अस्वाभाविक चासो देखाएको र भ्रष्टाचार गरेको पुष्टि भएको हो ।

पौडेलबाट बरामद भएको आईफोन प्रो म्याक्स मोबाइलको ब्याकअप रहेको डेल ल्यापटपको फरेन्सिक ल्याब परीक्षणबाट घुसको प्रमाण फेला परेको हो ।

उक्त ल्यापटपमा भेटिएको संवाद (च्याट कन्भर्सेसन) अनुसार ठेक्काको अनुमानित मूल्य, दरभाउ प्रस्ताव र उपकरणको विवरणबारे पौडेल र आपूर्तिकर्ताका प्रतिनिधि दिपक आनन्द सिंहबिच विभिन्न चरणमा वार्तालाप भएको देखिएको छ । सोही क्रममा उनीहरूबिच मूल्य सौदाबाजी भएको र अन्त्यमा परामर्श शुल्कका नाममा पौडेलले दुई लाख ८० हजार अमेरिकी डलर प्राप्त गर्ने गरी सहमति भएको अदालतको ठहर छ ।

सम्झौता भएको उक्त रकमलाई तत्कालीन विनिमय दरअनुसार हिसाब गर्दा नेपाली तीन करोड आठ लाख ५० हजार ४०० रुपैयाँ हुन आउँछ । यस्तो रकम लिन मञ्जुर भई पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर गरेको अदालतको निष्कर्ष छ । यस्तै, रिसवत दिन मञ्जुर गरी दिपक आनन्द सिंहले पनि सोही ऐनको दफा ३ (३) अनुसारको कसुर गरेको ठहर भएको छ ।

अदालतले कसुर ठहर गरे पनि बिगो जफतको मागदाबी भने पुग्न नसक्ने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त घुस रकम कुन बैंक वा स्थानमा जम्मा गरिएको छ भन्ने ठोस दाबी अभियोगपत्रमा खुलाउन नसकेको र रकम भौतिक रूपमा बरामद हुन नसकेकाले बिगो जफत गर्न नमिल्ने फैसलामा उल्लेख छ ।

“बिगो जफतको मागदावी तर्फ विचार गर्दा, उक्त आरोपदाबीको रकम बरामद हुन सकेको नदेखिएको साथै सो रकम के कुन स्थान वा बैंकमा जम्मा गरिएको छ भन्ने विषयमा आरोपपत्रमा स्पष्ट दाबी हुन सकेको देखिएन । अतः सो विगो जफततर्फको आरोपदावी पुग्न नसक्ने ठहर्छ,” फैसलामा उल्लेख छ ।

दोषी ठहर भएका पौडेल र सिंहलाई कति सजाय गर्ने भन्ने विषयमा अदालतले आगामी असार ३२ गतेको पेशी तोकेको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार छुट्टै सुनुवाइ गरी उनीहरूलाई हुने कैद र जरिवानाको सजाय निर्धारण गरिनेछ ।

सुनिल पौडेल नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार मुद्दामा ९ वर्ष जेल र करोडाैँ जरिबानासहित डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । सिंगापुरको बैंक खातामा अकुत सम्पत्ति फेला परेपछि मंगलबारमात्रै विशेष अदालतले उनलाई साढे दुई वर्ष कैद र १२ करोड ७५ लाख जरिबानाको फैसला गरेको छ । विभिन्न ठेक्कापट्टामा अस्वाभाविक चासो राख्दै अनियमितता गरेको पुष्टि भएपछि उनीमाथि शृङ्खलाबद्ध कानुनी कारबाही भइरहेको छ । नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड लगायतका केही मुद्दामा भने उनले सफाइ पाएका छन् ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८३ १७:४