close

विनाेद चाैधरीकाे तस्बिर र आवाज प्रयाेग गरी डिपफेक भिडिओमार्फत ठगी धन्दा, सचेत रहन सीजीको आग्रह

टेकपाना टेकपाना

साउन ५, २०८३ २३:१७

विनाेद चाैधरीकाे तस्बिर र आवाज प्रयाेग गरी डिपफेक भिडिओमार्फत ठगी धन्दा, सचेत रहन सीजीको आग्रह

काठमाडाैं । चाैधरी ग्रुपका अध्यक्ष विनाेद चाैधरीकाे तस्बिर र आवाज आर्टिफिसियल इन्टेलिजेन्समार्फत अनधिकृत रूपमा प्रयाेग गरी ठगी गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रम फैलाइएकाे पाइएको छ । सञ्चारकर्मी सञ्जय गुप्तासँगकाे अन्तर्वार्ता जस्ताे देखिने गरी तयार पारिएको साे भिडिओ पूर्णतः डिपफेक हो ।

भिडिओमा अध्यक्ष चौधरीले नेपाल सरकारको एउटा लगानी प्लेटफर्मले प्रति हप्ता ५ लाख ३५ हजार ५०० रुपैयाँ आम्दानीकाे ग्यारेन्टी गर्ने दाबी गरेको देखाइएको छ । भिडिओमा भनिएको छ, "३८ हजार ८० रुपैयाँ लगानी गरेर हप्ताकाे १ लाख ५४ हजार ७०० रुपैयाँभन्दा बढी कमाउन सकिन्छ । यो एउटा यस्तो अवसर हो जसले तपाईँको बचतलाई कैयौँ गुणा बढाइदिन्छ ।"

भिडिओमा एआईमा आधारित सफ्टवेयरले बजारको उतारचढाव विश्लेषण गर्ने र लगानीकर्तालाई ठुलो नाफा दिलाउने भन्दै सर्वसाधारणलाई बैंक खाता र व्यक्तिगत विवरण दर्ता गर्न प्रलोभन दिइएको छ ।

आफ्ना अध्यक्षको नाम र प्रतिष्ठा जोडेर भ्रामक सामग्री सार्वजनिक भएपछि चौधरी ग्रुपले सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । ग्रुपले जारी गरेको सूचनामा भनिएको छ, "चौधरी ग्रुपका अध्यक्ष श्री विनोद चौधरीको नाम, तस्बिर तथा प्रतिष्ठाको दुरुपयोग गर्दै कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिबाट सिर्जना गरिएका (Deepfake) भ्रामक भिडियो तथा अन्य डिजिटल सामग्रीहरू सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।"

ग्रुपले यस्ता सामग्रीसँग अध्यक्ष चौधरी वा चौधरी ग्रुप अन्तर्गतका कुनै पनि व्यावसायिक प्रतिष्ठानको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेको छ । भ्रम सिर्जना गर्ने तत्वहरू विरुद्ध कानुनी प्रक्रिया सुरु गरिसकिएको जानकारी दिँदै सूचनामा उल्लेख छ, "यस्ता झुटो भ्रम सिर्जना गर्ने सामग्री उत्पादन, प्रसारण वा प्रचारप्रसार गर्ने व्यक्ति वा संस्था विरुद्ध प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जानकारी गराउन चाहन्छौँ ।"

चौधरी ग्रुपले सर्वसाधारणलाई कुनै पनि अप्रमाणित सामग्रीको पछि नलाग्न र आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरण सुरक्षित राख्न आग्रह गरेको छ । "यस्ता भ्रामक प्रचारप्रति सचेत रहन, अप्रमाणित सामग्रीमा विश्वास नगर्न, बैंक खाता तथा अन्य गोप्य विवरण अनाधिकृत माध्यममार्फत साझेदारी नगर्न समेत हामी सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गर्दछौँ," सीजीले भनेको छ ।

पछिल्लो समय नेपालमा चर्चित व्यक्तिहरूको तस्बिर र आवाज क्लोन गरी ठगी गर्ने गिरोह सक्रिय छन् ।

 

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ २३:१७