सिमसिम वर्षामा स्कुल जाँदै गरेका तीन बालिका भाइरल, एआई निर्मित नक्कली तस्बिर पनि फैलिन थाले
साउन ८, २०८३ ७:५६
काठमाडौं। पहेँलो, हरियो र गुलाबी रङको रेनकोट ओढेर सिमसिम पानीमा लुरुलुरु हिँडिरहेका तीन साना बालिकाको भिडिओ यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । आफ्नै धुनमा ग्रामीण कच्ची सडकमा हिँडिरहेका यी बालिकाहरूको दृश्यले लाखौँ प्रयोगकर्ताहरूको ध्यान समेत खिचेको छ ।
२० जुलाई (सोमबार) बिहान ‘Loken Pun’ नामका फेसबुक प्रयोगकर्ताले ‘स्कुल जाँदा पानी पानीमा साथीहरू’ क्याप्सनका साथ यो भिडिओ सार्वजनिक गरेका थिए । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा करिब आठ लाख ३३ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् भने ९ हजार ८०० भन्दा बढी कमेन्ट आएका छन् । भिडिओलाई दुई करोड ५० लाखभन्दा बढिले हेरिसकेका छन् ।
भिडिओ खिच्ने व्यक्तिले ती बालिकाहरूलाई “हलो साथी हो, हलो साथी हो, छाता ओढेको साथीहरू” भन्दै बोलाइ रहेको सुन्न सकिन्छ । तर, बालिकाहरूले उनको कुरालाई पूरै बेवास्ता गर्दै आफ्नै सुरमा अगाडि बढ्छन् ।
यो दृश्यलाई हेरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो बाल्यकाल सम्झिएको बताएका छन् । कतिपयले भने रेनकोट ओढेका ‘साथी’लाई ‘छाता ओढेको साथीहरू’ भनेर बोलाएकाले वास्ता नगरेको भन्दै ठट्टा गरेका छन् ।
फेसबुक प्रयोगकर्ता ‘अश्विनी कुमार क्षेत्री’ले हाँसका टिउरासँग उनीहरूलाई तुलना गरेकी छिन् । भिडिओमा कमेन्ट गरेकी छिन्, “आहा ! कति माया लाग्दा के । हाँसका टिउरा जस्तै एकनासले लुरुलुरु”
अर्की प्रयोगकर्ता ‘रूप दुर्गापाल’ले सामाजिक सञ्जालमा नकारात्मक सामग्रीमात्र हेर्न पाइरहेको बेलामा उक्त भिडिओले आफूलाई सकारात्मक उर्जा दिएको उल्लेख गरेकी छिन् ।
यस्तै, पान्जु गोले स्याङ्बोले यो दृश्यलाई बलिउड फिल्म ‘कोही मिल गया’को पात्र ‘जादु’ को सम्झना गराएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “मलाई त कोही मिल गया मुभीको याद दिलायो, त्यो एलियन जस्तै लाग्या।”
सामाजिक सञ्जालमा यो भिडिओ भाइरल भएसँगै कतिपय प्रयोगकर्ताले बालिकाहरूको अनुहार हेर्न चाहेको बताएका थिए । सो पछि पुनले भाइरल भिडिओमा देखिएका बालिकाहरू नै भएको दाबीसहित अर्को भिडिओ राखेका छन् । २३ जुलाई (बिहिबार) सार्वजनिक गरेको उक्त भिडिओमा तीन जना बालिकाहरू हात समातेर हिँडिरहेको देख्न सकिन्छ ।
भिडिओमा उनले बालिकाहरूलाई बोलाउन खोजेका छन् । उनले भनेका छन्, “हेलो सानो मान्छे के छ । यिनीहरू त बोल्दै नबोल्ने रैछन् ।” तर बालिकाहरू बोल्दैनन्, बरु उनले बोलाउन खोज्दा असहज मानेको देखिन्छन् । ‘चकलेट किनिदिन्छु नि म’ भनेर उनले भन्दा पनि बालिकाहरू वास्ता नगरी हात समाउँदै दौडिन्छन् । सो भिडिओ हेरेर बालिकाहरूलाई घरबाट नचिनेको मानिससँग नबोल्नु भनेर सिकाएको हुनसक्ने आँकलन अन्य प्रयोगकर्ताले गरेका छन् ।
फेसबुक प्रयोगकर्ता ‘अयान सिद्दिकी’ले लेखेको छन्, “नजिनेको मान्छेसँग नबोल्नु भनेर आमाले भन्नुभएको छ ।”
बालिकाको अनुशासन देखेर ‘मनिता रायमाझी’ले लेखेकी छिन्, “राम्रो संस्कार पाएका रहेछन्, जो कोहीले दिएको खानु हुन्न, बोल्नु हुन्न भनेर आफ्नै बाटो लागे नानीहरू।” चिम रानाले पनि बालिकाहरूले नचिनेको व्यक्तिसँग नबोले भनेर प्रशंसा गर्दै लेखेकी छिन्, “चिनजान नहुनेसँग नबोल है छोरीहरू भनेर पठाएको होला आमाले, राम्रो संस्कार हो।”
एआई निर्मित तस्बिर समेत भाइरल बनाउँदै
सामाजिक सञ्जालमा ती बालिकाहरूको भिडिओ भाइरल भएपछि एआई निर्मित तस्बिरहरू सार्वजनिक हुने क्रमसमेत बढेको छ ।
‘Bikki Bk’ नामका फेसबुक प्रयोगकर्ताले आइतबार ८:५० ले बालिकाहरूको अनुहार देखिने एआई निर्मित तस्बिर शेयर गरेका छन् । उक्त तस्बिरमा ‘हामीलाई पनि सबैले माया दिनु होला है” लेखेको बोर्ड बालिकाले बोकेको देख्न सकिन्छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “सङ्घर्षको बाटोमा हिँड्दै गरेका नानीहरू ” । उक्त तस्बिरमा यो सामग्री तयार पार्दासम्म चार हजार बढिले लाइक गरेका छन् भने १९० पटक कमेन्ट गरिएको छ ।

‘कर्णाली प्रदेश आचार्य’ नामको फेसबुक प्रयोगकर्ताले पनि एआईबाट निर्मित तस्बिर शेयर गरेका छन् । तस्बिरमा रातो रेनकोटमा तीन जना बालबालिका देखिएका छन् । उक्त एआई तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, “आजभोली यी नानी हरु धेरै भाइरल भएका छन् र यिनिहरू कति माया लाग्ने है” ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ ७:५६
