काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले शान्ति सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिएको छ । परिसरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा व्यवस्थापनमा भइरहेका पछिल्ला प्राविधिक प्रयास र उपलब्धिबारे जानकारी गराएको हो ।
प्रहरीका अनुसार अहिले फिल्डमा खटिने सुरक्षाकर्मीको पोसाकमा ‘बडी वोर्न रियल टाइम भिडिओ सर्भिलेन्स क्यामेरा’ जडान गरिएको छ । यो प्रविधिमार्फत सुरक्षाकर्मीले कार्यस्थलमा देखिरहेका दृश्यहरू प्रहरीको केन्द्रीय कमान्ड सेन्टरबाट प्रत्यक्ष निगरानी गर्न सकिन्छ ।
यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित क्यामेराको प्रयोगबाट प्रहरीले हालसम्म ५९ जना शङ्कास्पद व्यक्तिहरूलाई पहिचान गरी पक्राउ गर्न सफल भएको परिसरले जनाएको छ । यी क्यामेराहरूले व्यक्तिको अनुहार वा शङ्कास्पद गतिविधि स्वचालित रूपमा पहिचान गरी प्रहरीलाई पूर्व-जानकारी दिने गर्दछन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै परिसरले ‘एआई इन्टिग्रेटेड एडभान्स ड्रोन’ समेत प्रयोगमा ल्याएको छ । यस ड्रोनमार्फत काठमाडौँका ५० भन्दा बढी संवेदनशील स्थानमा दिउँसो र रातको समयमा समेत उच्च निगरानी राख्नुका साथै सूचना सङ्कलन र प्रवाहको प्रभावकारी व्यवस्था मिलाइएको छ ।
प्रशासनिक कार्यमा पनि प्रविधिलाई जोड्दै परिसरले गत पुस महिनादेखि भिडिओ कन्फ्रेन्सका माध्यमबाट अनलाइनबाटै ‘म्याद थप’ गर्ने प्रणालीको सुरुवात गरेको थियो ।
यस प्रणालीअन्तर्गत गत असार मसान्तसम्म दुई हजार २७६ वटा मुद्दाको म्याद थप गर्ने कार्य सम्पन्न भएको कार्यक्रममा जानकारी दिइयो ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८३ १८:१५
