close

परीक्षा सुरु भएको केही समयमै कसले लिक गर्‍यो एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र ?

टेकपाना टेकपाना

साउन १०, २०८३ १४:४६

परीक्षा सुरु भएको केही समयमै कसले लिक गर्‍यो एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र ?

काठमाडौँ । ह्वाट्सएप ग्रुपमार्फत त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटनामा दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त घटनामा संलग्न भएको आशङ्कामा आइतबार उनीहरूलाई पक्राउ गरेको हो । 

शुक्रबार (८ साउन) एमबीएसको ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा दिउँसो १२ बजेदेखि सञ्चालन भएको थियो । परीक्षा सुरु भएको केही समयपछि एक हजारभन्दा बढी सदस्य भएको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र सार्वजनिक भएको हो । 

‘MBS 1st Sem Section C’ नामक ग्रुपमा उक्त प्रश्नपत्र सार्वजनिक भएको स्क्रिनशट फेसबुकमा ‘त्रिवि स्टुडेन्ट्स’ नामको पेजले सार्वजनिक गरेको थियो । सार्वजनिक स्क्रिनशटमा ‘Sulab sir’ नाम गरेका व्यक्तिले प्रश्न पत्र दिउँसो १२:०५ मा नै पीडीएफ बनाएर सार्वजनिक गरेको देखिएको छ । 

उक्त ह्वाट्सएप च्याट बाहिरिएसँगै  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र आईजीपी दानबहादुर कार्कीले बैठक बसेर शनिबारदेखि नै अनुसन्धान सुरु गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । घटनाको छानबिनपछि आइतबार बिहान घटनामा संलग्न दुई जना पक्राउ परेको मन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ह्याट्सएप ग्रुपमा देखिएका ‘Sulab sir’ र अर्को एक जना व्यक्ति छन् ।

त्रिविद्वारा छानबिन समिति गठन

प्रश्नपत्र लिक भएको विषयलाई लिएर त्रिवि व्यवस्थापन सङ्कायले छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । आइतबार त्रिवि, व्यवस्थापन सङ्कायको डीन कार्यालय र परीक्षा सञ्चालन समितिको संयुक्त बैठकले परीक्षा सञ्चालन भइरहेको समयमा नै सामाजिक सञ्जालमा प्रश्नपत्र लिक भएको विषयमा अनुसन्धान गर्न समिति गठन गरेको हो । 

व्यवस्थापन केन्द्रीय विभागका डा. अच्युत ज्ञवालीको नेतृत्वमा बनेको उक्त समितिमा विश्वविद्यालयको अनुगमन निर्देशनालयका उप-निर्देशक सह प्राडा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सह प्राडा महेशराज ओझा सदस्य छन् । उनीहरूलाई सात दिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन तयार पार्ने जिम्मेवारी तोकिएको छ । 

यता मन्त्रीको सचिवालयले घटनाको विषयमा तीव्र रूपमा छानबिन अघि बढिरहेको र सत्यतथ्य बाहिर ल्याएर सम्बन्धित व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन खटिरहेको बताएको छ । प्रश्नपत्र परीक्षा सुरु भएको पाँच मिनेटपछि बाहिरिएको देखिएकाले प्रश्न पत्र पाएपछि विद्यार्थीबाट नै बाहिरिएको वा अन्य कसैले बाहिर लगेको भन्ने बारेमा अनुसन्धान भइरहेको उल्लेख छ । हाल सामाजिक सञ्जालबाट नै मन्त्रालयले उक्त घटनाबारे थाहा पाएको र अन्य कहाँ कहाँ लिक भएको थियो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ १७:५२