यातायात कार्यालय कलङ्कीको प्रणालीमा गम्भीर सुरक्षा कमजोरी, सेवाग्राहीको डेटा जोखिममा
साउन १२, २०८३ १३:४६
काठमाडौं । कलङ्कीस्थित यातायात व्यवस्था कार्यालयको लाइसेन्स ट्रयाकिङ प्रणालीमा गम्भीरु सुरक्षा कमजोरी फेला परेको छ । यस त्रुटिका कारण कार्यालयबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिइसकेका हजारौँ सेवाग्राहीको नाम, लाइसेन्स नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील व्यक्तिगत विवरणहरू जोकोहीले सहजै हेर्न मिल्ने अवस्था सिर्जना भएको छ ।
कार्यालयले सञ्चालनमा ल्याएको अनलाइन ट्रयाकिङ प्रणालीमा सुरक्षाका लागि कुनै पनि अथेन्टिकेसन (प्रमाणीकरण) को व्यवस्था गरिएको छैन । उक्त प्रणालीमा कुनै पनि जथाभावी अङ्क राखेर खोजी गर्दा समेत सम्बन्धित सेवाग्राहीको वास्तविक विवरण स्वतः देखिने गरेको छ ।




उक्त प्रणालीमा कुनै पनि अङ्क राखेर खोजी गर्दा, वास्तविक नम्बर नमिल्दा समेत सम्बन्धित सेवाग्राहीको वास्तविक नाम, लाइसेन्स नम्बर र मोबाइल नम्बर स्वतः देखिने गरेको छ । यसरी बिनाकुनै प्राविधिक सुरक्षा जाँच सर्वसाधारणको व्यक्तिगत विवरण सहजै उपलब्ध हुनुले प्रणालीको कमजोरीलाई सतहमा ल्याएको छ ।
व्यक्तिगत गोपनीयताको संरक्षणका सम्बन्धमा ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५’ ले चालक अनुमतिपत्र र मोबाइल नम्बरलाई वैयक्तिक सूचनाको रूपमा परिभाषित गरेको छ । ऐनको दफा २५ को उपदफा (१) बमोजिम त्यस्ता सूचनाको संरक्षण गर्ने दायित्व सम्बन्धित सरकारी निकायको हुने स्पष्ट व्यवस्था भए तापनि कलङ्की यातायात कार्यालयको यो कमजोरीका कारण सेवाग्राहीको गोपनीयताको हक हनन् हुन पुगेको देखिन्छ ।
यातायात व्यवस्था विभागले गत चैत महिनामा मात्रै कलङ्की कार्यालयलाई वितरणका लागि ४० हजारभन्दा बढी कार्ड उपलब्ध गराएको थियो । त्यसयता कति कार्ड वितरणका लागि पठाइयो भन्ने यकिन विवरण उपलब्ध नभए पनि, हालसम्म कार्यालयबाट लाइसेन्स लिइसकेका सम्पूर्ण सेवाग्राहीको विवरण अनधिकृत रूपमा सङ्कलन भई दुरुपयोग हुन सक्ने खतरा छ ।
यस सुरक्षा त्रुटिका बारेमा थप जानकारी लिन कलङ्की यातायात कार्यालयका सूचना अधिकारी कुलबहादुर बस्नेत तथा सोधपुछ शाखामा पटक-पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १४:५०
