close

वनएक्स बेटका ३ एजेन्ट पक्राउ, दुई वर्षमा ५७ करोडको कारोबार*

टेकपाना टेकपाना

बैशाख २, २०८१ २०:१४

वनएक्स बेटका ३ एजेन्ट पक्राउ, दुई वर्षमा ५७ करोडको कारोबार*

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटका तीन नेपाली एजेन्ट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वनएक्स बेटको एजेन्ट बनी कारोबार गर्ने सर्लाहीका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरीलाई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार वनएक्स बेटका विभिन्न साइटमा उनीहरू आफ्नो वालेट तथा बैंक अकाउन्टहरू राख्ने गर्थे । ती अकाउन्टमा सट्टेबाजी गर्नेहरूले रकम पठाइदिए ती एजेन्ट वनएक्स बेटको अकाउन्टमा जम्मा गरिदिन्थे । यसरी जम्मा गरिदिएको रकमबाट सात प्रतिशत कमिसन राखेर क्रिप्टोमार्फत उनीहरू वनएक्सबेटको मुख्य कम्पनीलाई पठाउँथे ।

वनएक्स बेटको प्लेटफर्ममा वालेट र बैंक अकाउन्टको विवरण फेला पारेपछि प्रहरीले त्यसको सञ्जाल पहिचान गर्नतर्फ काम गर्न थाल्यो । टेकपानासँगको कुराकानीमा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, “त्यही सञ्जाल विश्लेषण गर्दै जाँदा यी तीन जनाले बढी कारोबार गरेको देखियो । उनीहरूलाई सर्लाहीबाट ल्याएर थप अनुसन्धान गरिरहेका छौं ।”

प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट आरोपी तीन जनाले विभिन्न मोबाइल नम्बरबाट २१ ओटा कनेक्ट आईपीएस अकाउन्ट खोली ९८ ओटा बैंक अकाउन्टसँग लिङ्क गरेको खुलेको छ । सोही अकाउन्टबाट हालसम्म ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नौ ओटा स्मार्टफोन, २१ ओटा सिम कार्ड, दुई ओटा ल्यापटप र एउटा सीपीयू बरामद गरिएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूमाथि नेपालको प्रचलित कानून बमोजिम मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

(*समाचारको शीर्षक परिवर्तन गरिएको छ । -सं)

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ २०:३९