close

गुगल म्याप्समा थ्रीडी बिल्डिङको विकल्प आउँदै

टेकपाना टेकपाना

बैशाख ५, २०८१ १२:३२

गुगल म्याप्समा थ्रीडी बिल्डिङको विकल्प आउँदै

काठमाडौं । नेभिगेसनको अनुभवलाई अझ राम्रो बनाउन गुगल म्याप्समा नयाँ अपडेट आउने भएको छ । गुगलले आफ्नो एपमा थ्रीडी बिल्डिङ्स फिचर थपेर नेभिगेसन अनुभवलाई अझ आकर्षक बनाउन लागेको हो ।

हाल यो फिचर गुगल म्याप्सको बेटा भर्सनमा उपलब्ध छ । ‘एसेम्बल डिबग’ नामक एक्स प्रयोगकर्ताले प्लेटफर्ममा गुगलले 'show 3D building’ विकल्प थपेको पोस्ट गरेका छन् । उनका अनुसार गुगल म्याप्सको बेटा भर्सन १२४ (११.१२४.०१०२) मा यो फिचर उपलब्ध छ । यदि तपाईं पनि बेटा टेस्टर हुनुहुन्छ भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

सामान्य प्रयोगकर्ताका लागि खासै ठूलो परिवर्तन नभए पनि नेभिगेसन एप दैनिक रूपमा प्रयोग गर्नेलाई उपयोगी हुन सक्छ । कुनै पनि ठाउँमा जाँदा नेभिगेसनका लागि यो फिचर प्रयोग गर्दा अझ वास्तविक अनुभव मिल्ने बताइएको छ ।

यस फिचर अन्तर्गत बिल्डिङलाई थ्रीडीमा हेर्दा चालकले वरिपरिको भौतिक अवस्थालाई वास्तविक सरह हेर्न सक्छन् । बेटा एपको सेटिङ भित्र म्याप डिस्प्ले भन्ने विकल्प छ । जहाँ अलि तल स्क्रोल गर्दै गए 'सो थ्रीडी बिल्डिङ' भन्ने देखिन्छ । त्यसलाई इनेबल गरेपछि नेभिगेसनका क्रमका परिवर्तन भएको देख्न सकिन्छ ।

यद्यपि कहिलेदेखि औपचारिक रूपमा सबैका लागि यो फिचर आउँछ भन्ने कुरा अन्योल नै रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८१ १७:५०