close

कार उपहार पाउने लोभमा नक्कली फेसबुक पोस्टमा कमेन्ट गर्दै सोझा नेपाली

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १३:४

कार उपहार पाउने लोभमा नक्कली फेसबुक पोस्टमा कमेन्ट गर्दै सोझा नेपाली

काठमाडौं । लबिम मलको नाममा नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने कार्य भएको पाइएको छ । कार, आईफोन जस्ता उपहार दिने भन्दै नक्कली पेजबाट यस्ताे सोझा प्रयोगकर्तालाई ठगी गर्ने नियतले यस्तो स्क्याम भइरहेको हो ।

७ अप्रिलमा नाम परिवर्तन गरेर 'Labiim mall' राखिएको सो पेजमा पुराना पोस्टहरू हटाएर नयाँ पोस्ट राखिएको छ । सो पोस्टमा लेखिएको छ, “सबैलाई नमस्कार, @LABIM MALL को जन्मदिन मनाउन, सहभागी सबैले CAR को मुख्य पुरस्कार र 25 अप्रिल 2024 अघि PAGE मा "Happy birthday" लेख्ने अन्य सबै पुरस्कारहरू, टेलिफोन, पैसा र भाउचरहरू जित्नेछन् । भाग्यले साथ दिओस् ।”

व्याकरण र भाषिक शुद्धता समेत बिगारेर राखिएको यस्ताे पोस्टलाई अधिकांश प्रयोगकर्ताले विश्वास गरेका छन् । यो समाचार तयार पार्दासम्म पोस्टमा दुई हजार ८०० बढी रियाक्सन, १२ हजार ४०० बढी कमेन्ट र आठ हजार ३०० बढी शेयर भएको छ ।कमेन्ट गर्ने हरेकलाई रिप्लाई दिंदै आफ्नो इनबक्स जाँच गर्न भनिएको छ । 

सामान्यतः यस्ता पेजबाट प्रयोगकर्तालाई 'दर्ता गर्नुस्' भन्दै स्क्याम लिङ्क पठाइन्छ । सो मेसेजमा लेखिएको हुन्छ, “विजेतालाई बधाई छ, हामी तपाईंको पुरस्कार पठाउने प्रक्रियामा छौं, अहिले नै दर्ता गर्नुहोस्, यदि तपाईंले तुरुन्तै दर्ता गर्नुभएन भने, हामी अन्य सहभागीहरूलाई यो अवसर प्रदान गर्नेछौं । दर्ता गर्न तलको बटनमा क्लिक गर्नुहोस् ।” त्यसमा भएको लिङ्कमा क्लिक गरेको खण्डमा अर्को पेजमा रिडाइरेक्ट हुन्छ ।

सामान्यतः यसरी रिडाइेक्ट भएको लिङ्कले प्रयोगकर्तालाई विभिन्न स्क्याम साइटमा पुर्‍याउँछ । विशेषगरी एफिलियट मार्केटिङ गर्नेहरूले यस्तो तरिका अपनाएर प्रयोगकर्तालाई विभिन्न किसिमका साइटमा पुर्‍याउँछन् ।

कतिपय साइटमा प्रयोगकर्तलाई उनीहरूको नम्बर, ईमेल, नाम र अन्य सम्पर्क विवरण राख्न भनिएको हुन्छ । त्यसरी आफ्नो डेटा राख्दा त्यसैको दुरुपयोग हुने सम्भावना उच्च हुन्छ । 

फेसबुक ग्रुपमा यस्ता किसिमका पोस्टहरू दिनहुँ देखिने गर्छन् । कहिले सामसङ, कहिले भाटभटेनी, कहिले यामाहा, कहिले नेपाल टेलिकमका नाममा स्क्यामरले यस्तो किसिमको ठगी गरिरहेका हुन्छन् । सर्वसाधारण पनि उनीहरूले दिने भनेको उपहारको प्रलोभनमा परेर लिङ्क क्लिक गर्ने र आफ्नो विवरण पठाउने गर्छन् ।

यसरी अनावश्यक लिङ्क क्लिक गर्दा उनीहरूको सामाजिक सञ्जालका अकाउन्ट र बैंकिङ एपहरू ह्याक हुने सम्भावना उच्च हुन्छ । 

कतिपय फेसबुक ग्रुपले अप्रुभल अन गरेका हुँदैनन् । जसले गर्दा स्क्यामरका यस्ता लिङ्कले बढी चर्चा पाउँछन् ।

उपहार पाउने भन्ने सामान्य पोस्ट राखेकै भरमा पेजमा हजारौं  लाइक आइरहेको हुन्छ । सर्वसाधारणले यी पक्ष बेवास्ता गर्छन्, र कमेन्ट गर्छन् । यसरी कमेन्ट र शेयर गर्दा पोस्टको इङ्गेजमेन्ट बढ्छ । त्यसपछि सो पोस्ट अन्य प्रयोगकर्तासम्म पुग्छ । यसरी यसको जालो विस्तार हुँदै जान्छ । 

साइबर सुरक्षा जानकारले यस्ता किसिमका पोस्टलाई विश्वास नगर्न सुझाव दिएका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १३:२२