close

डट एनपी डोमेन दर्ता गर्दा कुनै प्रतिक्रिया आएन ? यस्तो छ कारण

टेकपाना टेकपाना

माघ ९, २०८० १७:५६

डट एनपी डोमेन दर्ता गर्दा कुनै प्रतिक्रिया आएन ? यस्तो छ कारण

काठमाडौं । ‘डट एनपी’ डोमेन दर्ताको काम छरितो नभएको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेका छन् । डोमेन रजिस्ट्रेसनका लागि दिएको आवेदनमा महिनौंसम्म प्रतिक्रिया नपाएपछि सेवाग्राहीले सामाजिक सञ्जालमा गुनासो गरेका हुन् ।

नेपालमा मर्कन्टाइल कम्युनिकेसन प्रालिले एनपी डोमेन व्यवस्थापनको काम गर्दै आएको छ । सामान्यतः डोमेन नेमका लागि आवेदन दिएको चौबिस घण्टाभित्र मर्कन्टाइलले प्रतिक्रिया दिने गरेकोमा पछिल्लो समय यो प्रक्रिया सुस्त देखिएको छ । 

मर्कन्टाइलले भने डोमेन नेमका लागि एक्कासि आवेदन बढ्दा प्रक्रिया ढिलो हुन पुगेको जवाफ दिएको छ । कम्पनीको जनरल एड्मिनिस्ट्रेसन एन्ड कम्प्लायन्सका निर्देशक मधु अमात्यले एनपी डोमेन दर्ता गर्नेहरूको सङ्ख्या अहिलेसम्मकै बढी भएकाे बताए । 

“पछिल्लो डेढ महिनामा डोमेन शाखामा अचम्मै भएको छ,” उनले टेकपानासँग भने, “डोमेन दर्ताका लागि अहिलेसम्मकै धेरै आवेदन आएका छन् । डोमेन स्वीकृत/अस्वीकृत गर्न एक जना कर्मचारी मात्रै रहेकाेमा धान्न नसक्ने अवस्था आएपछि अहिले दुई जना थप गरेका छौं । अब चाँडै नै प्रक्रिया छिटो हुन्छ ।” 

डोमेन दर्ताको काम मात्र नभइ डीएनएस मोडिफिकेसनको काम पनि त्यही शाखाबाट हुने उनले सुनाए ।

आफ्नो व्यक्तिगत पोर्टफोलियो बनाउन, सञ्चालन गर्दै आएको व्यवसायलाई डिजिटलाइज गर्न तथा अन्य विभिन्न प्रयोजनका लागि डट एनपी डोमेन दर्ता गर्ने गरेको पाइन्छ । सेवाग्राहीले निःशुल्क रूपमा यस्तो डोमेन एक्सटेन्सन लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १८:१३