close

सरकारले साथ नदिएपछि निजी प्रयासमा सञ्जीव राजभण्डारीले यसरी सुरु गरेका थिए नेपालको डोमेन

टेकपाना टेकपाना

असोज २४, २०७९ १५:५

सरकारले साथ नदिएपछि निजी प्रयासमा सञ्जीव राजभण्डारीले यसरी सुरु गरेका थिए नेपालको डोमेन

काठमाडौं । सन् १९९४ को सुरुवातसम्म नेपालको आफ्नै डोमेन (डट एनपी) थिएन । जसले गर्दा ग्राहकहरूले डट ईन (भारतको) अथवा डट एयू (अस्ट्रेलियाको) डोमेनमार्फत काम चलाउन बाध्य थिए । 

तर १९९४ को मध्यतिर अस्ट्रेलियाको कनेक्ट डटकमले मर्कन्टाइललाई डट एनपी डोमेन स्थापना गर्न सहयोग गर्‍यो । त्यसैले आजको दिनसम्म पनि डट एनपी डोमेनका कतिपय डोमेनको ब्याकअप अस्ट्रेलियामै छ । 

अस्ट्रेलियन साझेदारले त्यतिखेर भनेको कुरा सञ्जीव राजभण्डारी अझै सम्झिन्छन्, “‘तिमीहरू हामीसँग कनेक्ट हुन त खोजिरहेका छौ, तर तिम्रो देशको डोमेन नै छैन’ भन्थे ।”

डट एनपी डोमेनका लागि सहयोग गर्ने बचन अस्ट्रेलियन साझेदारले दिएपछि सञ्जीव सोच्न थाले । “पूरै देशको डोमेन हामीले कसरी लिने भन्ने लाग्यो,” उनी भन्छन्, “त्यसपछि हामीले त्रिभुवन विश्वविद्यालय र रोनास्टसँग कुरा गर्‍यौँ ।”

रोनास्ट (तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तथा अहिलेको नास्ट) र भारतको ईआरनेट दुवै सरकारी संस्था थिए । रोनास्टले दिल्लीमा रहेको ईआरनेटमा डायल गरेर ईमेल सेवा थालेको थियो । डा. केदारभक्त माथेमा तत्कालीन समयमा रोनास्टको उपकुलपति थिए । “मैले देशको डोमेन सुरु गरौँ भन्दा उहाँहरूले त्यसप्रति चाहना देखाउनु भएन,” सञ्जीव तत्कालीन सम्वाद सम्झिन्छन्, “प्राविधिक संस्था भए पनि सूचना प्रविधि रोनास्टको कार्यक्षेत्रमा नपर्ने तर्क दिँदै उहाँले अस्वीकार गरिदिनु भयो ।” उता त्रिभुवन विश्वविद्यालयकाले भने ईमेल के हो भन्ने कुरा नै थाहा नभएको जवाफ दियो ।

सरकारी संस्थाहरू पन्छिएपछि मर्कन्टाइल आफैँले अग्रसरता लियो र डट एनपी डोमेन सुरु भयो । यसरी सन् १९९४ तिर मर्कन्टाइलले एनपी डोमेन पायो । कनेक्ट डटकमको सहयोगमा डोमेन सुरु भएक‍ाले अझै पनि नेपालका कतिपय प्राथमिक सर्भरहरू अस्ट्रेलियामै छन् । 

डट एनपी डोमेन अझै पनि सरकारले सम्हाल्ने स्थिति बनिसकेको छैन । जसले गर्दा सुरु भएदेखि आज पर्यन्त मर्कन्टाइलले नै निःशुल्क रूपमा एनपी डोमेनहरू वितरण तथा व्यवस्थापन गर्दै आएको छ । 

“त्यो बेला हामी ईमेल मात्रै गर्थ्यौँ,” उनी भन्छन्, “तर हामीले एनपी डोमेन पनि पायौँ । त्यो हाम्रो लागि निकै ठूलो कुरा थियो । त्यसको प्राइमरी सर्भिसको सबै ब्याकअप अस्ट्रेलियामै थियो ।”

नेपालमा वेबसाइट आउनु अघि नै मर्कन्टाइलले सन् १९९५/०९६ तिर बेलायतमा साउथ एसिया डटकम नामक वेबसाइट होस्ट गरेको थियो । त्यतिखेर ६४ केबी क्षमताकै लिङ्कको मूल्य १२ लाख रुपैयाँ परिरहेको थियो । यस्तोमा खर्च जोगाउन बेलायतको सर्भरमा राखिएको सञ्जीव बताउँछन् । “नेपालमा सर्भर राख्दा बाहिरको मान्छेले एक्सेस गरेको खण्डमा हाम्रो ब्यान्डविथ खर्च निकै महँगो पर्न जान्थ्यो,” उनी भन्छन्, “त्यसैले हामीले आफ्नो वेबसाइट बेलायतको सर्भरमा राखेका थियौँ ।” 

त्यसमा यूएन, मर्कन्टाइल, कान्तिपुर र काठमाडौं पोस्टका सामग्री राखिएको सञ्जीव सम्झिन्छन् । सन् १९९७ मा मर्कन्टाइलले नेपाल न्युज सुरु गर्‍यो ।

मर्कन्टाइल कम्युनिकेसन्स सुरु हुनु अघि मर्कन्टाइल अफिस सिस्टम (मस) थियो । किन भने तत्कालीन समयमा ईमेलको परियोजना केवल परीक्षण मात्रै थियो । निकट भविष्यमा सञ्चार नै व्यवसाय बन्ने कुरा सञ्जीवले सोचेकै थिएनन् । त्यसबेला नेपालको आफ्नो डोमेन (डट एनपी) नै थिएन । मर्कन्टाइलको वेबसाइटको नाम मस डट कनेक्ट डटकम डट एयू (अस्ट्रेलिया) थियो । 

डटएनपी डोमेन मात्र नभएर नेपालमा ईमेल तथा इन्टरनेट सेवा सुरु गर्ने अग्रसरता समेत भण्डारीले नै लिएका थिए । कतिपयले उनलाई एकताका 'नेपालका बिल गेट्स'को उपाधि समेत दिएका थिए । 

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १८:५