आफूले चाहेको व्यक्ति नेपाल टेलिकमको प्रमुखमा नियुक्ति गर्न सञ्चारमन्त्रीको चलखेल
जेठ २४, २०८१ १५:५९
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलखेल थालेकी छन् । कम्पनीमा आफू अनुकूलको व्यक्तिलाई प्रबन्ध निर्देशकमा नियुक्ति दिलाउन मन्त्री रेखा शर्माले मन्त्रीपरिषद्बाट निर्देशिका नै संशोधन गराएकी हुन् ।
मन्त्रालयले गएको २२ जेठमा एक सूचना प्रकाशित गर्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । त्यसको पाँच दिन अगाडि अर्थात् १७ जेठको मन्त्रीपरिषद् बैठकबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१ स्वीकृत गराइएको थियो ।
नियुक्तिको केही दिन अघि मात्र निर्देशिका संशोधन हुनुलाई सञ्चार मन्त्रालयका एक उच्च तहका कर्मचारीहरूले नियमित चलखेलको उपजको रूपमा अर्थ्याए ।
जब कि नेपाल टेलिकमको प्रबन्ध निर्देशक खुला प्रतिस्पर्धाको माध्यमबाट नियुक्त गर्ने र नियुक्ति प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउनकै लागि सुशासन ऐन अन्तर्गत निर्देशिका तयार पारिएको विषय त्यसको प्रस्तावनामै लेखिएको छ । तर प्रस्तावनाको मूल मर्म विपरीत गएर हरेक पटकको नियुक्तिमा निर्देशिका नै परिमार्जन गर्ने गलत परम्परा सञ्चार मन्त्रालयले स्थापित गरेको छ ।
लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली नियुक्तिका क्रममा मापदण्ड तथा निर्देशिका संशोधन हुनुलाई स्वभाविक मान्न नसकिने बताउँछन् । “यस्ता नियुक्तिका लागि मन्त्रालयले बनाउने समिति स्वच्छ र पारदर्शी हुनै सक्दैन,” उनी भन्छन्, “छनौट र नियुक्तिको जिम्मेवारी लोकसेवा आयोगलाई दिने हो भने नियुक्ति अघि विवाद नै आउँदैन ।”
कुनै निश्चित व्यक्तिलाई नियुक्ति दिलाउनकै लागि निर्देशिका संशोधन गरिएको ठोकुवा समेत मैनालीले गरे । उता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आफ्नो हैसियतबाट निर्देशिकाको औचित्य बारे कुनै टिप्पणी गर्न नसकिने बताए । "निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भएर आएपछि हामीले सोही बमोजिमको प्रक्रिया अगाडि बढाउने हो," टेकपानासँगको कुराकानीमा उनले भने ।"
|
क्र.सं. |
दफा |
मूल निर्देशिकाको व्यवस्था |
अहिले थपिएको नयाँ व्यवस्था |
|
१. |
५. शैक्षिक योग्यता |
मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । |
सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ विषय थप गरिएको । |
|
२. |
६. कार्य अनुभव |
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापनीय पदमा कम्तीमा ३ वर्ष सहित १२ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । |
निकायका 'व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षसहित' हटाई '१२ वर्षको कार्य अनुभव भएको हुनुपर्ने र व्यवस्थापकीय पदमा काम गरेको हुनुपर्नेछ' भन्ने शब्दहरू राखिएको । |
|
३. |
७. उमेर |
आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५६ वर्ष ननाघेको हुनुपर्नेछ । |
५६ वर्षको साटो ५८ वर्ष राखिएको । |
नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल विशेष अदालतबाट दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता उक्त पद रिक्त रहेको छ । यसअघि २०७८ मा नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त आह्वान हुनुभन्दा ठीक अघि पनि यसैगरी निर्देशिका परिवर्तन गरिएको थियो । जसअनुरूप तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चर्चामा रहेका सुनील पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक बनाएका थिए ।
अहिले भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका महाप्रबन्धक अनिलकुमार झा र नेपाल टेलिकमका १० औं तहका कर्मचारी विमल आचार्य मध्ये एक जनालाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउन निर्देशिका संशोधन गरिएको चर्चा छ । संशोधित व्यवस्थामा थपिएको सिभिल इन्जिनियरिङ शब्दले झालाई र उमेर हद ५८ पुर्याउँदा आचार्य समेतलाई सहज बनाउनेछ ।
वर्तमान सञ्चार मन्त्री शर्माले आफ्नै सल्लाहकार भूपेन्द्र भण्डारीलाई नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउन नियमावली विपरीत गएर नियुक्ति सम्बन्धी योग्यता हेरफेर गराएकी थिइन् । र अन्ततः भण्डारीलाई नै प्राधिकरण अध्यक्षमा नियुक्त गराइएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८१ १५:५९
