close

आईफोन १६ र आईफोन १६ प्लसमा पनि ‘एप्पल इन्टेलिजेन्स एआई’ आउँदै छ ?

टेकपाना टेकपाना

असार ८, २०८१ २०:१६

आईफोन १६ र आईफोन १६ प्लसमा पनि ‘एप्पल इन्टेलिजेन्स एआई’ आउँदै छ ?

काठमाडौं । बजारमा आगामी आईफोन १६ सिरिजलाई लिएर विभिन्न अनुमान र हल्ला चल्न थालिसकेका छन् । यो सिरिजका मोडेलमा हुने सुविधा र क्षमताबारे बारम्बार समाचार आइरहेका छन् । अहिले धेरैको दिमागमा आईफोन १६ र १६ प्लस मोडेलहरूले एप्पल इन्टेलिजेन्स एआई सपोर्ट गर्लान् कि नगर्लान् भन्ने प्रश्न आइरहेको छ ।

एप्पल इन्टेलिजेन्स एआई-सञ्चालित सुविधाहरू एकीकृत गरिएको अत्याधुनिक स्विट (प्रडक्ट) हो, जुन आईओएस १८, आईप्याड ओएस १८, टिभी ओएस १८, वाच ओएस ११, म्याक ओएस १५ सपोर्ट गर्ने डिभाइसमा उपलब्ध हुनेछ । तर यी अपरेटिङ सिस्टममा चल्ने सबै डिभाइसमा एप्पल इन्टेलिजेन्स उपलब्ध नहुने पनि कम्पनीले जनाएको छ ।

यसैलाई आधार मान्दै धेरै रिपोर्टहरूले आईफोन १५ का प्रो मोडेलहरूमा एप्पल इन्टेलिजेन्स एआई सपोर्ट हुने उल्लेख गरेका छन् ।  किनकि यसका लागि कम्तीमा ए१७ प्रो चिप चाहिने बताइएको छ । यसै सन्दर्भमा एप्पल १६ का स्ट्यान्डर्ड मोडेलहरू आईफोन १६ र आईफोन १६ प्लस मोडेलले एप्पल इन्टेलिजेन्स एआई सपोर्ट गर्ने/नगर्ने अन्याेल छ ।

तर हालैका घटनाक्रमले आईफोन १६ र १६ प्लस मोडेलहरूमा पनि एप्पल इन्टेलिजेन्स एआई उपलब्ध हुने संकेत देखाएका छन् । ​एप्पलले यी स्ट्यान्डर्ड मोडेलमा ए१८ बायोनिक चिप प्रयोग गर्नेछ, जसमा टीएसएमसीको एनथ्रीई ३ एनएम नोड (N3E 3nm node) हुने चर्चा छ । यदि ए१८ मा यो परिवर्तन हुने हो भने आईफोन १६ र १६ प्लसले एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने दाबी गरिएको छ ।

आईफोन १६ प्रो मोडेलहरूमा ए१८ प्रो चिपको लागि प्रयोग हुने एनथ्रीपी नोडको तुलनामा एनथ्रीई नोड थोरै कम शक्तिशाली भएपनि एप्पल इन्टेलिजेन्स एआई चलाउन सक्षम हुने बताइएको छ ।

अन्य कम्पनीहरूले मिडरेन्ज फोनमा पनि एआई फिचर दिने घोषणा गरेका बेला एप्पल आगामी आईफोन सिरिजका सबै मोडेलमा एप्पल इन्टेलिजेन्स एआई उपलब्ध गराउने साेचमा रहेकाे अनुमान गरिएकाे छ । साथै एप्पलले आईफोन १६ का स्ट्यान्डर्ड मोडेलमा कम्तीमा ८ जीबी र्‍याम उपलब्ध गराउने चर्चा समेत छ ।

हालै सम्पन्न डब्लूडब्लूसी २०१४ मा एप्पलले एप्पल इन्टेलिजेन्स एआई घाेषणा गरेकाे हाे । यसअन्तर्गत एप्पलको भोइस एसिस्टेन्ट टुल सिरी स्मार्ट हुनेछ । अपडेटेड हुने सिरीको नयाँ भर्सनमा एप्पलले एआई एकीकृत गर्नेछ । यसले गर्दा सिरीसँगको कुराकानीमा सुधार हुने र कुराकानीको विषयवस्तु बुझेर प्रतिक्रिया दिने बताइएको छ ।

त्यस्तै एकै निर्देशनबाट धेरै काम गर्ने, एपसँग अन्तर्क्रिया गर्ने जस्ता जटिल काम पनि गर्न सक्नेछ । यसले गर्दा फोटो एडिट गर्ने, ईमेल लेख्ने जस्ता काम भोइस कमान्डका आधारमा नै गर्न सक्ने छ ।

यसका साथै एप्पलले ओपनएआईसँग सहकार्य गर्दै सिरीमा च्याटजीपीटीलाई पनि एकीकृत गर्ने घोषणा गरेको छ । आईओएस १८ सँगै बिल्ट-इन रूपमा च्याटजीपीटी उपलब्ध हुनेछ । यसो हुँदा सिरीलाई कुनै पनि काम गर्न अप्ठ्यारो भए सहयोगका लागि सिरीले च्याटजीपीटीलाई सहयोग माग्ने छ । त्यसपछि च्याटजीपीटीको सबै भन्दा पछिल्लो भर्सन च्याटजीपीटी फोरओले जेनेरेट गरेको प्रतिक्रिया सिरीले उपलब्ध गराउने छ ।

त्यस्तै एप्पल प्रयोगर्ताका लागि अब नोटिफिकेसनको प्राथमिकीकरण पनि एआईले नै गर्नेछ । यसका साथै नोटिफिकेसनको सारांश समेत गर्ने क्षमता सो एआई फिचरले राख्ने गर्छ ।

त्यस्तै एप्पल इन्टेलिजेन्स एआईमा एप्पल मेलमा आउने मेलहरूको सारांश गर्न एआई टुल प्रयोग हुनेछ । त्यसो हुँदा ईमेलको अगाडिका पङ्क्तिहरू देखाउनुको सट्टा अब पुरै मेलको सारांश देखिने छ । यतिमात्रै नभइ मेल अथवा अलि लामो आकारको लेखहरू लेखिरहनुहुन्छ भने एप्पलको नयाँ एआई फिचर उपयोगी हुने बताइएकाे छ ।

एप्पल डिभाइसमा आउन लागेको अर्को आकर्षक एआई फिचर ‘इमेज जेनेरेटर’ हो । अब तपाईंले आफ्नो प्रम्ट (लिखित निर्देशन) मार्फत चाहेको जस्तो एआई जेनेरेट तस्वीर बनाउन सक्नहुन्छ । यसका लागि ‘इमेज प्ले ग्राउन्ड’ र ‘ईमेल वान्ड’ नामक दुई एआई टुल उपलब्ध हुनेछन् ।

त्यस्तै आईओएस १८ सँगै तपाईंले प्रम्टका आधारमा भिडिओ मेमोरी समेत बनाउन सक्नुहुन्छ । यसका लागि आईफोन आफैंले फोटो छान्ने, सुहाउँदो सङ्गीत भर्ने काम गर्छ । साथै एप्पल इन्टेलिजेन्समा भोइस ट्रान्सक्रिप्सन, इन्टेलिजेन्स सर्च लगायतका फिचर पनि आउनेछन् ।

पछिल्लो अध्यावधिक: असार ८, २०८१ २०:२५