काठमाडौं । चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाउने अदालतको आदेशको प्रभाव हास्य टेलिसिरियल ‘सक्किगोनि’मा समेत परेको छ । हिमालय टिभीमा आज राति ८ बजे प्रसारण हुने तय भएको ‘सक्किगोनि’को ९१औं भाग नआउने भएको हो ।
यस भागमा ‘लाज शरणम्’ चलचित्रको प्रचारप्रसार गर्ने किसिमका सामग्री राखिएको छ । अदालतको आदेशअनुसार प्रचारप्रसार गर्न नपाएपछि ‘सक्किगोनि’को पछिल्लो भाग रोक्नुपरेको ‘सक्किगोनि’को निर्माण कम्पनी जेपीटी क्रिएसनले जनाएको छ ।
कम्पनीका प्रमुख तथा ‘लाज शरणम्’को कार्यकारी निर्मातासमेत रहेका अभिनेता अर्जुन घिमिरे (पाँडे)ले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् । उनले लेखेका छन्, "पाटन उच्च अदालतले हाम्रो चलचित्र 'लाज शरणम्' को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगोनि’को ९१औं भाग अदालतको आदेशलाई आत्मसात गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ ।"
महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्रको तीन साता पहिले नै टिजर आएको थियो । चलचित्रको टिजर र पोस्टरमा सीताराम कट्टेल 'नेता'को लुक्समा देखिएका छन् । पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि मंगलबार अदालतले चलचित्रको प्रचारप्रसार नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचारप्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ । यससँगै चलचित्रको टिजर भिडिओ प्राइभेट गरिएको छ ।
यसअघि चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्यापर बालेनको स्वरमा ‘नेपाल हाँसेको’ गीत सार्वजनिक भएको थियो । उक्त गीत अपलोड भएको १९ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको थियो ।
सरोज लामिछाने र सुनितामी परियारको स्वरमा सोमबार लोक दोहोरी र रोलेक्स द गड फादर अर्थात् अर्जुन देव पाण्डेको आवाजमा मंगलबार 'भोले बम बम' बोलको गीत भने अझै पनि युट्युबमा रहेका छन् ।
कुमार कट्टेलको निर्देशनमा बनाइएको चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ। चलचित्रका कार्यकारी निर्माता अर्जुन घिमिरे (पाँडे) रहेका फिल्मका निर्मातामा नवीन श्रेष्ठ रहेका छन् । फिल्मको राम नरेश शाह र सृजना खड्का सहनिर्माता हुन्।