काठमाडौँ । भारत सिक्किमका पदम तामाङ नेपालमा अवैध अनलाइन जुवाको प्रचार गर्ने कार्यमा सक्रिय रहेको पाइएको छ । ‘जिली’ नामक अनलाइन बेटिङको प्रचारका लागि नेपाली फेसबुक प्रयोगकर्तालाई लक्षित गर्दै चलिरहेको विज्ञापन अभियानमा उनी जोडिएका हुन् ।
नेपाली चलचित्र 'होस्टेल ३' मा समेत अभिनय गरेका तामाङका दर्जनौँ भिडिओ बेटिङको विज्ञापनका लागि प्रयोग भइरहेका छन् । जसमध्ये एक भिडिओ १३ लाख पटक हेरिएको छ, जसमा १० हजारभन्दा बढी लाइक समेत छन् । (हेर्नुहोस्ः अर्काइभ लिंक अनि भिडिओः ) ।
जिलीको नाममा एक मात्र होइन, यो सामग्री तयार पार्दासम्म छुट्टाछुट्टै १४ ओटा फेसबुक पेज बनाएर नेपालमा अवैध अनलाइन जुवाको विज्ञापन गरिएको छ । जीलीको नामबाट अनलाइन सट्टेबाजीको विज्ञापन गर्ने सबै जसो पेजहरू मलेसियाबाट सञ्चालन भइरहेको देखिन्छ ।
जिली नेपाल वन (JILI NEPAL 1) नामक फेसबुक पेजमा मात्रै सात ओटा विज्ञापन एक्टिभ छन् ।
त्यस्तै ‘JILI NEPAL 2’ नामक अर्को पेजमा पनि पदम तामाङले विज्ञापनका लागि बनाएको छुट्टै भिडिओ बुस्ट गरिएको छ । बेटिङको प्रचारमा चार ओटा विज्ञापन एक्टिभ देखिएको उक्त पेजमा यो समाचार तयार पार्दासम्म एक लाख ३९ हजार भ्युज आएको छ ।
त्यस्तै ‘JILI NEPAL 3’ नामक पेजमा बेटिङको लागि तयार पारिएका पाँच विज्ञापन एक्टिभ देखिए । यो पेजमा तीन ओटा भिडिओ पदम तामाङका छन् । त्यसमध्ये एउटा भिडिओमा २० लाख भ्युज तथा २१ हजार लाइक आइसकेको थियो ।
यसैगरी ‘JILI NEPAL 5’ नामक पेजबाट समेत पाँच ओटा विज्ञापन एक्टिभ देखिएका छन् । ती मध्ये तीन ओटा विज्ञापनमा पदम तामाङ देखिन्छन् । ‘JILI NEPAL 6’ नामक अर्को पेजमा पनि पाँच ओटै विज्ञापन छन्, जसमा तामाङका दुई ओटा भिडिओ छन् ।
नेपाली भाषामा कमेडी भिडिओ बनाएर चर्चित बनेका तामाङ पछिल्लो समय नेपाल आउजाउ समेत गरिरहेका हुन्छन् । उनले EVO33 नामक अर्को बेटिङ प्लेटफर्मको भिडिओ विज्ञापन समेत गरेका छन् । जसको EVO33 6 मा २ लाख २४ हजार, EVO33 1 मा ७ लाख ३१ हजार भ्युज छ ।
प्रहरीले मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनलाइन सट्टेबाजीमा संलग्न उपर कारबाही अगाडि बढाउँदै आएको छ । त्यसको दफा १२५ मा, ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ व्यवस्था छ । यस किसिमको कार्यमा संलग्न रहेको पाइएमा जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जोफत हुनुका साथै कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
त्यसो त यस किसिमको अवैध सट्टेबाजीको प्रचार गर्ने कलाकार र युट्युबरमाथि समेत प्रहरीले कारबाही गर्दै आएको छ । करिब दुई वर्षअघि मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु पौडेल) तथा बेगम नेपाली (भट्भटे माइला) , युट्युबर पवन खतिवडा (म्याकुरी), एलिश राई, जलन घर्ति मगर (जलन) लगायत वनएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका थिए ।