९ सेप्टेम्बरमा आईफोन १७ आउने चर्चा, फाइभजी र वाई-फाई ७ का लागि नयाँ एन्टेना प्रविधि
साउन २७, २०८२ ८:५९
काठमाडौँ । एप्पलले आउँदो ९ सेप्टेम्बरमा आईफोन १७ सिरिज गर्ने हल्ला छ । उक्त मिति नजिकिँदै जाँदा यसबारे विभिन्न अफवाह सार्वजनिक भइरहेका छन् । बाहिरिएको नयाँ विवरणअनुसार आईफोन १७ प्रो र सम्भवतः आईफोन १७ प्रो म्याक्समा समेत एन्टेना (सिग्नल प्राप्त गर्ने भाग) को स्थान परिवर्तन गरिनेछ ।
हालका आईफोन मोडेलमा एन्टेना फोनको छेउको फ्रेममा राखिएको हुन्छ । जसमा सिग्नल प्रवाहका लागि साना छुट्टिएका भागहरू देखिन्छन् ।
नयाँ स्रोतका अनुसार आईफोन १७ प्रोमा एन्टेना पछाडिको क्यामेरा मोड्युल वरिपरि राखिनेछ । यस किसिमको डिजाइन परिवर्तन एप्पलले ‘एप्पल वाच अल्ट्रा’ र ‘अल्ट्रा २’ बाट प्रेरणा लिएर गर्न लागेको जनाइएको छ । यी स्मार्टवाचमा सिग्नलको गुणस्तर र स्थायित्व बढाउन एन्टेना रणनीतिक रूपमा राखिएका छन् ।
एन्टेनालाई क्यामेरा मोड्युल वरिपरि राख्दा फोनको धातु संरचनाबाट हुने हस्तक्षेप घट्नेछ । यसले भीडभाडयुक्त स्थानमा समेत फाइभजी र नयाँ पुस्ताको वाई-फाई ७ सिग्नलको प्रदर्शन सुधार गर्नेछ र कनेक्सन स्थिर राख्नेछ । क्यामेरा मोड्युलको क्षेत्र सिग्नललाई रोक्ने वा कमजोर पार्ने सम्भावना कम हुने भएकाले यो स्थान उपयुक्त मानिएको हो ।
यो संरचनाले एन्टेनाबाट निस्किने विकिरण ढाँचामा पनि सुधार ल्याउनेछ । यसले सिग्नलको समान वितरण, सानो क्षेत्रहरूमा ‘सिग्नल ब्लाइन्ड स्पट’ कम गर्ने र उच्च घनत्व भएका सहरी वा जटिल इनडोर स्थानहरूमा पनि राम्रो प्रदर्शन सुनिश्चित गर्ने विश्लेषण गरिएको छ ।
नयाँ एन्टेना डिजाइनले फाइभजी एमएमवेभ र वाई-फाई सेभेन जस्ता प्रविधिमा राम्रो प्रदर्शनका साथै स्ट्रिमिङ र डेटा ट्रान्सफरमा कम ढिलाइ, फोनको छेउमा सफा डिजाइन र ब्याट्री तथा थर्मल प्रणालीका लागि थप स्थान उपलब्ध गराउने चर्चा छ ।
यदि यो संरचना उत्पादनमा लागु भयो भने आईफोन १७ प्रोलाई डिजाइन र नेटवर्क प्रदर्शन दुवैमा नयाँ स्तरमा पुर्याउने विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन २७, २०८२ ९:११
