युट्युबर ध्रुव राठीले ल्याए एआई स्टार्टअप, सबै प्रिमियम सेवा एउटै प्लेटफर्ममा दिने दाबी
भदौ २, २०८२ १३:२१
काठमाडौँ । भारतीय युट्युबर ध्रुव राठी ‘एआई फियास्टा’ नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप सुरु गरेका छन् । च्याटजीपीटी, जेमिनाई, क्लाउड, ग्रोकजस्ता चर्चित एआई मोडेलको प्रिमियम भर्सन एउटै प्लेटफर्ममार्फत सस्तो मूल्यमा उपलब्ध गराउन राठीले यस्तो प्लेटफर्म सुरुवात गरेका हुन् ।
आइतबार आफ्नो युट्युब च्यानलमार्फत एक भिडिओ सार्वजनिक गर्दै राठीले आफ्नो स्टार्टअपबारे जानकारी दिएका छन् । उनका अनुसार यो कुनै अर्बौँ डलर कमाउने महत्त्वाकांक्षी योजनाबाट नभई दैनिक जीवनमा एआई प्रयोग गर्दा आफैँले भोगेका समस्याबाट प्रेरित भएर सुरु गरिएको हो ।
स्टार्टअप आइडियाबारे राठीले भनेका छन्,, “यो स्टार्टअपको आइडिया मेरो दैनिक जीवनका केही समस्याबाट जन्मिएको हो । एउटा यस्तो चिजसँग सम्बन्धित छ जुन म हरेक दिन प्रयोग गर्छु र सायद तपाईंहरू पनि गर्नुहुन्छ होला- एआई ।”
उनले एआई प्रयोगकर्ताले भोगिरहेका दुई ओटा मुख्य समस्या पहिचान गरेको उल्लेख गरे । पहिलो समस्या महँगो शुल्क भएको उनको भनाइ छ । उनले भने, “हाम्रो देश (भारत)मा अधिकांश मानिसहरू महँगो शुल्कका कारण यो एआई क्रान्तिको हिस्सा बन्न सकिरहेका छैनन् ।” च्याटजीपीटी, जेमिनाई वा ग्रोक जस्ता एआईको प्रिमियम संस्करणको मासिक शुल्क २० देखि ३० डलरसम्म पर्ने र यो आम मानिसका लागि धान्न गाह्रो भएको उनले बताए ।
दोस्रो समस्याको रूपमा उनले विभिन्न कामको लागि फरक-फरक एआई प्रयोग गर्नुपर्ने झन्झट रहेको बताए । उनका अनुसार फ्याक्ट-चेकिङ वा लेख्ने जस्ता काम गर्दा उत्कृष्ट नतिजाका लागि सबै प्रमुख एआईको प्रिमियम सब्स्क्रिप्सन लिनुपर्ने बाध्यता छ । यसले गर्दा खर्च बढ्ने र काम गर्न पनि असुविधाजनक हुन्छ ।
यही समस्या समाधान गर्न ‘एआई फियास्टा’ सुरु गरिएको उनको दाबी छ । उनले भने, “किन एउटा यस्तो प्लेटफर्म नहोस् जहाँ एउटै च्याटमा यी सबै शीर्ष एआईसँग एकैसाथ कुरा गर्न सकियोस् र तिनका जवाफलाई सँगसँगै तुलना गर्न पनि सकियोस् ।”
राठीले आफ्नो प्लेटफर्मको उद्देश्य स्पष्ट पार्दै भने, “एआई फियास्टाको उद्देश्य एउटै छ । त्यो हो विश्वका सबै शक्तिशाली प्रिमियम एआईको शक्ति एउटै ठाउँमा, एउटै च्याटमा उपलब्ध गराउनु, त्यो पनि सस्तो मूल्यमा ।”
उनका अनुसार सबै प्रमुख एआईको सब्स्क्रिप्सन छुट्टाछुट्टै लिँदा मासिक करिब ११० डलर (९,६०० भारु) लाग्नेमा ‘एआई फियास्टा’मा यी सबै सेवा मासिक १२ डलर (९९९ भारु) मा उपलब्ध हुनेछ । उनले यो प्लेटफर्ममा ‘इम्प्रुभ प्रम्प्ट’, ‘प्रोजेक्ट्स’, इमेज जेनेरेसन र अडियो ट्रान्सक्रिप्सन जस्ता अतिरिक्त सुविधा पनि रहेको जानकारी दिए ।
भविष्यमा प्लेटफर्ममा नयाँ एआई मोडेल थप्दै जाने, हिन्दी लगायत अन्य क्षेत्रीय भाषामा पहुँच विस्तार गर्ने र हरेक महिना अपडेट भिडिओमार्फत प्रयोगकर्ताप्रति जवाफदेही रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । उनले आफ्नो लक्ष्यबारे उल्लेख गर्दै भने, “यो देशको सबैभन्दा ठुलो एआई प्लेटफर्म बन्न सकोस् भन्ने मेरो आशा हो ।”
यहाँ क्लिक गरेर एआई फियास्टाको एन्ड्रोइड एप डाउनलोड गर्न सकिन्छ । त्यस्तै वेबमा यहाँ क्लिक गरेर एआई फियास्टाको वेब एप प्रयोग गर्न सकिन्छ । राठीका अनुसार हाल यो एप आईओएसमा उपलब्ध भइसकेको छैन ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १३:३८
